तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जोखिम : सक्रिय बन्दै सल्यानका स्थानीय सरकार

सल्यान । कोरोना भाईरसको सम्भावित जोखिमबाट बच्न सल्यानका १० वटै स्थानीय सरकार सक्रिय भएका छन् । जिल्लाका सबै तहले प्रतिकार्य योजना बनाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छन् ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र जमघट हुने कार्यक्रम बन्द गरेका छन् भने गाउँगाउँमा स्वास्थ्कर्मी परीचालन गरी सचेतनामुलक कार्यक्रम गरी रहेकाछन् । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।

उहाँले दार्मा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थालाई एलट अवस्थामा राखिएको र स्वाथ्यकर्मीहरुको नेतृत्वमा चेतनामुलक कार्यक्रम गरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो गाउँघरमा हुने विवाह, पार्टी, भेला, सम्मेलन सबै रोकेका छौं । एक जनाको कमजोरीले ठुलो दुर्घटना हुन सक्ने तर्फ सचेत छौं ।

कोरना संक्रमणविरुद्व स्थानीयलाई सचेत बनाउन सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार १५ वटै वडामा घरदैलो अभियानलाई तीव्र बनाइएको छ । ‘विश्वभर फैलिएको महामारी जिल्लामा भित्रन नदिन सबै स्वास्थ्य संस्थालाई अलर्ट राखिएको छ,’ उहाँले भन्नुभयो’ ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले बिभिन्न सचेतनामूलक सामग्रीसहित स्वास्थ्यकर्मीलाई गाउँमा परिचालन गरिएको बताउनुभयो । ‘सबै स्वास्थ्य चौकीमा पर्याप्त औषधीको व्यवस्था गरिएको छ, स्वास्थ्यकर्मीलाई बिदामा बस्न रोक लगाएका छौं,’ उहाँले भन्नु, ‘कपुरकोटमा हेल्थ डेस्कको स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ ।’

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई गेटमा राखिएको साबुनपानीले हात धोएर मात्र सेवा प्रदान गर्ने गरेको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरले बतउनुभयो । जनप्रतिनिधि र स्वास्थ्यकर्मी जनताको घरमा पुगेर कोरोना भाईरसका बारेमा जानकारी दिने र सरसफाईमा ध्यान दिन आग्रह गरी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button