तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा प्लास्टिक सर्जरी सेवा शुरु

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले प्लास्टिक सर्जरी सेवा शुरु गरेको छ । कीर्तिपुर अस्पताल काठमाडौँसँगको सहकार्यमा कर्णाली प्रदेशमै पहिलो पटक प्रदेश अस्पतालले प्लास्टिक सर्जरी सेवा शुरु गरेको हो । 

सुर्खेतमै ओठ तथा तालु (मुख भन्दा भित्र जिब्रो भन्दा माथि) र आगोले जलेर एक भागदेखि अर्को भागसँग जोडिएको बिरामीका लागि प्लास्टिक सर्जरी सेवा भएपछि सेवाग्राही उत्साहित भएका छन् । कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शङ्करमान राईको नेतृत्वमा कैलाश खाकी श्रेष्ठ, लिला रानामगर सहितको टोलीले बिरामी चेकजाँच शुरु गरेको छ । 

प्लास्टिक सर्जरी सेवा शुरु भएसँगै हालसम्म २५ जना सेवाग्राहीले लाभ लिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर केशर ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार पहिलो पटक सेवा लिनेमा १० महिलासहित १५ पुरुष रहेका छन् । 

ओठ तथा तालु (मुख भन्दा भित्र जिब्रो भन्दा माथी) चिरिएको आठ जना, जलेर पोलेर एक भाग अर्को भागसँग जोडिएको ४ जना, एक्युट बर्न ४ जना, जलेको पोलेको दाग आठ जना र जन्मँदै औँला जोडेको १ जना बिरामी रहेका थिए ।

सुर्खेत, जाजरकोट, दैलेख, कालिकोट र जुम्लाबाट सेवा लिन आएका बिरामीमध्ये तुरुन्त उपचार चाहिने गहिरो जलन भएका २ जनालाई कीर्तिपुर अस्पताल रेफर गरिएको छ । 

आगामी वैशाखमा प्रदेश अस्पताल सुर्खेतमा यस्ता बिरामीहरूको अप्रेशन शिविर गर्ने र उपचारलाई निरन्तरता दिने योजना रहेको फेक्ट नेपालका कैलाश खाकी श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button