लुम्बिनीमा योगाभ्यास
रुपन्देही। अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना तथा लुम्बिनी विकास कोषको सहकार्यमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले सामूहिक रुपमा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए । योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले योग सहरी जीवनशैली अपनाउने तथा दिनभर कार्यालय, उद्योग–व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरूका लागि अत्यन्त उपयोगी रहेको बताउनुभएको छ । उहाँले ग्रामीण र सहरी जीवनशैलीबीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैलीअनुसार फरक हुने धारणा राख्नुभयो ।
लुम्बिनीस्थित लिटिल बुद्धको प्रतीमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारीसहित ५०० भन्दाबढी योग साधकहरूको सहभागिता थियो ।रासस






प्रतिक्रिया राख्नुहोस्