‘कृष्ण प्रणामी धर्मशाला मानव सेवाको अर्को मन्दिर’
सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले धरानमा नव निर्मित कृष्ण प्रणामी धर्मशाला मानवीय सेवा प्रदान गर्ने मन्दिरको रूपमा निर्माण भएको बताउनुभएको छ ।

धरान–८ मा नवनिर्मित कृष्ण प्रणामी धर्मशाला उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले यस धर्मशाला भवन मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरूपमा खडा भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीका आफन्तहरूलाई निःशुल्क खाने बस्ने व्यवस्था गरेको कुरा थाहा पाउँदा यो धर्मशाला मात्र नभएर मन्दिरको रूपमा निर्माण भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभयो ।
स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिएको हो ।

धरान–९ का वडाअध्यक्ष रुपेश आचार्यका अनुसार ३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्पन्न भएको हो ।
समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रणामी सम्प्रदायका जगद्गुरु श्रीकृष्णमणि महाराज लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्