नयाँ पोलिसी आएपछि दूरसञ्चार फेरिन्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ पोलिसी निर्माणमार्फत दूरसञ्चारको रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएको छ ।
काठमाडौँमा आज टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेशन्स इनसाइट्स अन पोलीसि एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्रालयले यो वर्ष भित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याइछाड्ने बताउनुभयो । “मैले यो वर्ष जसरी पनि दूरसञ्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा गर्छु र सदनमा पुर्याउछु,” उहाँले भन्नुभयो,“नीति र ऐन परिमार्जन नगरी दूरसञ्चारको कार्यशैलीमा रूपान्तरण ल्याउन कठिन छ ।”
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जन सँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताउनुभयो । उहाँले फो जी लाई देशभर पुर्याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको सुनाउनुभयो । अबको पुस्ता प्रविधिको गति सँगै हिँडेन भने विकासको दृष्टिले पछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिजिटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । “सेकेन्ड सेकेन्डमा प्रविधिको विकास बढ्दैछ”, उहाँले भन्नुभयो,“यो गति पच्छ्याउन सकिएन भने हामी डिजीटिल विकासका हिसाबले पछि परिन्छ ।”
सरकारको प्रतिबद्धता अनुसार प्रत्येक घर घर मा टेलिफोन र इन्टरनेट नेटवर्क पुर्याउने हो तर, यसका लागि पर्याप्त अभ्यास गर्न र नीतिगत सुधार गर्न तर्फ लाग्न जरुरी रहेको मन्त्री गुरुङको जोड छ । मन्त्री गुरुङले दूरसञ्चार प्राधिकरण ऐन सँगै यसको छुट्टै पोलिसि समेत निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै सञ्चार सचिव राधिका अर्यालले दूरसञ्चार ऐन र नियमावली परिमार्जन गर्ने आवश्यक महसुस गरिएको बताउनुभयो । टेलिकम सर्भिसलाई परिमार्जन गरेर इनोभेटिवस सर्भिस अपनाउँदा प्रभावकारी हुने धारणा राख्दै सचिव अर्यालले दूरसञ्चार सुध्रिन गर्न सरकार सधैँ तत्पर रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्