तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)  विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग गर्नुभएको छ । 

आजको राष्ट्रियसभाको बैठकमा बोल्नुहुँदै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गर्नुभएको छ । सभाको आकस्मिक समयमा बोल्दै सांसदहरुले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो । 

राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गर्नुभयो । “सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटक पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरूको उद्धार गर्नुपर्छ ।”

अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थी माथि दमन भइरहेको भन्दै आपत्ति जनाउनुभयो । “विद्यार्थीहरूलाई जबर्जस्ती रुपमा घर पठाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “कूटनीतिक पहलबाट मृत्यु प्रकरणको छानबिन गर्न लगाउने, विद्यार्थीलाई त्यहीँ पढ्न सुरक्षित वातावरण बनाउनुपर्छ ।”

सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिव शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाउनुभयो । “विद्यार्थीहरूसँग पैसा थिएन, टिकट थिएन, तर गलहत्त्याएर निकालियो, नेपाली विद्यार्थीहरू रेलबे स्टेसनमा अलपत्र परेको घटना अमानवीय र असंवेदनशील हो”, उहाँले भन्नुभयो, “प्रकृतिले आफूलाई अभद्र व्यवहार भएको भन्दै उजुरी दिए पनि विश्वविद्यालयले साथ नदिँदा उनले आत्महत्या गर्नुपरेको छ ।”

सांसद मोहम्मद खालिदले लम्सालको मृत्यु प्रकरण सम्बन्धमा नेपाल सरकारले जिम्मेवार केआइआइटी विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरूको सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद तुलप्रसाद विश्वकर्माले पनि लम्सालको मृत्यु प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला पर्नुभएको छ, लम्सालको सत्य तथ्यको छानबिन गर्नुको सट्टा जबर्जस्ती दमन गरिएकामा दुःख लाग्यो”, उहाँले भन्नुभयो, “सत्यतत्य छानबिनका लागि सरकारले पहल गरियोस्, दोषीलाई कडा कारबाही गरियोस् ।”

यस्तै सांसद तुलसाकुमारी दाहालले पनि कडाइका साथ छानबिनको माग गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button