अध्यादेशमा सहमति जुटाउने प्रयास : सत्तापक्षीय ७ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ।
बैठकमा राष्ट्रियसभा र प्रतिनिधि सभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरू बीच सदनको कारबाहीमा एकरूपता ल्याउने र आगामी अध्यादेश पारित गर्ने बारे योजना बनाउन छलफल हुनेछ। बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला, जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतकहरू सहभागी हुनुहुनेछ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, बैठकको उद्देश्य संसदमा आगामी कारबाहीलाई प्रभावकारी बनाउने र भूमि बाहेकका अन्य अध्यादेशहरू दुवै सदनमा टेबल गर्ने सहमति जुटाउन हो। यसअघि, शनिबार सत्तासाझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अध्यादेशहरू तुरुन्तै दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको थियो।
भूमि अध्यादेशको विषयमा पनि सत्ता साझेदार दलहरू बीच खासै विमति नरहेको र यसलाई सहमतिका आधारमा टुङ्ग्याइने महेश बर्तौलाले जानकारी दिनुभएकाे छ।
प्रतिक्रिया राख्नुहोस्