उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबिच भेट
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG-1-1-1024x682.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रम शक्ति भवन नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको हो । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपीआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिनुभयो ।
सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्नेछन् ।
यसैगरी सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गर्नुभयो ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो भने भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्