उज्विकिस्तानको ब्ल्याक बुल्स क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/476621511_1129744482269105_5068783636822100716_n-1024x683.jpg)
पोखरा । उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (मङ्गलवार) भएको अन्तिम तथा चौथो क्वाटरफाइनल खेलमा भारत सिक्किमको थन्डर नर्थ यूनाइटेड फुटबल क्लबलाई ३—० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा यात्रा तय गरेको हो ।
ब्ल्याक बुल्सको जितमा इस्लोम्जोम अब्दुकोडिरोभ, सइदजामोल दवलतजोनोभ र शभकात्जोन सत्तोरोभले एक/एक गोलको योगदान दिनुभयो । खेलको ३८ औँ मिनेटमा डि एरियामा पाएको बललाई इस्लोम्जोमले दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको हो । खेलको ७३ औँ मिनेटमा सइदजामोलले करिब १८ यार्ड नजिक पाएको बललाई सिधै पोष्ट चार्ज गर्दा २—० को अग्रता दिलाउनु भयो । खेलको ७५ औँ मिनेटमा शभकात्जोनले धुलमुलमा गोल गरी गोल अन्तर फराकिलो बनाउनु भएको हो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/476132271_2656003648121106_6865861515250217495_n-1024x918.jpg)
थन्डर नर्थले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा यस वर्षको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलबाट यात्रा छोट्याएको छ । थन्डर नर्थका फोफोना, मार्क ह्यारिसन, आर्दश तामाङ लगायतका प्रहार गोलमा परिणत हुन सकेन् । मङ्गलवारको खेलमा ब्ल्याक बुल्सका अलिजोन अलिजोनोभ म्यान अफ दी म्याच घोषित हुनुभयो ।
समूह बीमा रहेको भारत सिक्किमको थन्डर नर्थले सङ्कटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाउँदा ब्ल्याक बुल्सले सिधै वाई पाएर क्वाटरफइनलमा प्रवेश गरेको थियो ।
यसैबिच, भोलि पहिलो सेमिफाइनल खेल हुने भएको छ । बुधबार पहिलो सेमिफाइनल खेलमा समूह एको नेपाल पुलिस क्लब विरुद्ध चर्च ब्वाईज यूनाइटेड बिच दिउँसो २ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्