तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार विरुद्ध कारवाहीको विकल्प छैन : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भ्रष्टाचार विरुद्ध कारवाहीको विकल्प नभएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा सोमबार हेटौँडा स्थित कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार जघन्य अपराध भएको भन्दै प्राप्त अधिकारको दुरुपयोग गरी देश, जनता र सुशासनको विरुद्ध नैतिकता र कानुन विपरीत जाने जो कोही विरुद्ध सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

भ्रष्टाचारीले कुनै पनि हालतमा मुक्ती पाउन नहुने भन्दै उहाँले भ्रष्टाचार हुन नदिन ईमान्दारीता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समेत समावेश गरिनुपर्ने साथै अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पुर्ण व्यक्तिहरूलाई नियमित रुपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श अर्थात् काउन्सिलिङ कक्षा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई साना/साना भ्रष्टाचारका मुद्दामा हात हालेर सङ्ख्यात्मक विवरण पेश गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै यी आरोपलाई गलत सावित गराउन साना/ठुला सबै खाले भ्रष्टाचारी माछाहरूलाई पक्रिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधार नै भ्रष्टाचार रहित सरकार भएको बताउनुभयो । उहाँले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको दाबी समेत गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थलगायतको आतिथ्यता रहेको थियो ।

स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button