तपाईँ सुन्दै हुनुहुन्छः

समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना सम्मानित

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले नेपाल साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक दिनबन्धु गोयल तथा प्रा.डा.बाबुराम तिमिसिनाले संयुक्त रुपमा ५१ हजार राशिको सो पुरस्कार उपसभामुख रानालाई प्रदान गर्नुभयो ।

यसैगरी, धर्मानन्द रामप्यारी सिटौला  एक लाख ५१ हजार राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई प्रदान गरिएको छ । 

त्यस्तै, ५१ हजार राशिसहित बालकिशन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), तथा ५१ हजार राशिकै नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), तथा ५१ हजार राशिकै  भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ), डा. नरेन्द्र/योगमाया/भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ/मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बाल प्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।

यसैगरी  एक लाख एक हजार राशिको जगतबन्धु÷श्रीमती अन्जु काकी चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारहरू प्रा.डा.बाबुराम तिमिसिना, प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी लगायतले प्रदान गर्नुभयो  थियो ।

सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगार सञ्चालनका लागि प्रदान गर्ने बताउनुभयो ।

उहाँले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनुका साथै समृद्धि कायम गर्न सकिने विचार राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सुवेदी, प्राडा. तिमिसिना, उद्योगी दिनबन्धु गोयल  लगायतले यस प्रकारकाको पुरस्कार वितरणले समाजमा साहित्य, कला संस्कृति संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button