यसपालिको बजेट दबाबमा नभई नागरिकको राय र सुझावमा बन्नेछ : मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानी बजेट कुनै दबाबमा नभई खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय तथा सुझावका आधारमा निर्माण गरिने बताउनुभएको छ ।
आज सिन्धुपाल्चोक, चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नव निर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरिका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर यसपटकको बजेट निर्माण गरिनेछ । कसैको अनियमितता वा दबाबमा बजेट निर्माण हुनेछैन । खानेपानीको समस्या उपभोक्ता समितिले राम्रोसँग बुझ्ने भएकाले उनीहरूको राय, सल्लाह, र सुझावलाई प्रमुख आधार बनाएर मात्र बजेट बनाइने छ ।”

मन्त्री यादवले खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइ हाम्रो प्राथमिक आवश्यकता हो । नागरिकले उपभोग गर्ने पानीबाट सरकारले कर असुली गर्नु उचित होइन, त्यसकारण उपभोक्तामाथि लगाइएका करहरू हटाइने छ ।”
मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सिन्धुपाल्चोक जिल्लाका खानेपानी आयोजना हरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशका हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्या समाधान गर्न सरकार अहोरात्र खटिएको मन्त्री यादवले बताउनुभयो । उहाँले थप्नुभयो, “सिन्धुपाल्चोकसहित देशभरि खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्नु हाम्रो प्रमुख लक्ष्य हो । एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानी उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित सरकार अघि बढिरहेको छ ।”

मन्त्री यादवले दुर्गम क्षेत्रका बासिन्दालाई पिठ्युँमा बोकेर पानी ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “दातृ निकायको सहकार्यमा म यो समस्याको स्थायी समाधान गर्नेछु ।”
करिब रु।६ करोडको लागतमा निर्माण भएको यो आयोजना बाट साबिकको स्याउले गाविस, चौतारा–१ का २५० घरधुरी लाभान्वित हुनेछन् । साथै, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १, ५, ६, र ७ का पाँच हजार पाँच सय घरधुरी, सदरमुकाम क्षेत्रका सरकारी कार्यालयहरू, र सेनाको ब्यारेक गरी कम्तीमा ३० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्, खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुभास कर्माचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ ले पछिल्लो समय खानेपानी क्षेत्रमा उल्लेखनीय सुधार भएकोमा खुशी व्यक्त गर्दै नागरिकलाई शुद्ध तथा स्वच्छ पानी वितरणमा कुनै सम्झौता हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादव, सचिव इ। प्रमीलादेवी शाक्य बज्राचार्य, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ। रामकुमार श्रेष्ठ लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्