तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नुहोस्

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर  शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गर्नुभएको छ   ।

प्रमुख शाक्यले आज विज्ञप्ति जारी गर्दै  कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नुभएको हो ।

उहाले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन सबैसँग अपिल गर्नुभयो ।सङ्क्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

उक्त सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले सङ्घीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउन उहाले समेत गर्नुभएको छ  ।

महानगरपालिकाका प्रमुख   शाक्यले  अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन पनि आग्रह  गर्नुभएको छ  । जात्रा तथा पर्वमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गर्नुभएको छ ।

उहाले महानगरभित्र  विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न आग्रह गर्नुभएको छ  ।

विज्ञप्तिमा धार्मिकस्थलमा धेरै भीडभाड हुँदा सङ्क्रमण सर्नसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानमा समेत भीडभाड नगर्न अपिल गरिएको छ । कामपाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button