तपाईँ सुन्दै हुनुहुन्छः

सुर्तीजन्य पदार्थको शतप्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पुरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गर्नुभएको छ । 

यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गर्नुभएको हो । 

‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौँ ।’ 

यस्ता चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन् । 

नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्कमा छ । 

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकमेजिंगमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भए पछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ ।  

यस्तो चेतावनीका कारण थाइल्याण्डमा ८५ प्रतिशतले धूम्रपान छाडेको एक अध्ययनले देखाएको छ । यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्याङ्कहरूले देखाएका छन् । 

नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button