तयार भयो खुम्बु जोड्ने पक्की पुल
सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ । सोलूदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिका–१ जुभिङको छिर्दी घाटस्थित दूधकोशी नदी मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको हो ।
करिब साढे दुई वर्षअघि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले सात करोड छ लाख ३३ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो ।
पुल तयार भएसँगै मेयर शेर्पाले भन्नुभयो, पुल निर्माणले यस क्षेत्रका स्थानीय बासिन्दा र खुम्बु क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि महत्वपूर्ण सहयोग पुग्नेछ । प्राविधिक र भौगोलिक हिसाबले दिगो र मजबुत संरचना बनेको उहाँको भनाइ छ । सदरमुकाम सल्लेरी, माप्य हुँदै खुम्बु जोड्ने सडक खण्ड भएकाले दूधकोशी नदीमाथि बनेको यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने मेयर शेर्पाले बताउनुभयो ।
५० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको पुल फ्रि स्ट्रेच प्रविधिबाट बनाइएको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताउनुभयो । काम शुरु गरेपछि तीव्र गतिमा निर्माण गरी गुणस्तरीय पुल तयार भएको उहाँको भनाइ छ । सम्झौता केही वर्ष अघि भए पनि निर्माण स्थलसम्म पुग्ने सडकमा यातायातका साधन चल्न नसकेका कारण सामान ढुवानी गर्न नपाउँदा निर्माण शुरु गर्न केही ढिला भएको हो ।
पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरूको मूल्य समेत सस्तिने स्थानीय बताउँछन् । यो पुल निर्माण पश्चात् सदरमुकाम आवतजावत गर्न तथा पर्यटकलाई खुम्बु जान स्थलमार्गबाट धेरै सहज हुने भन्दै खरिखोलाका भलाकाजी मगरले खुशी व्यक्त गर्नुभयो ।
पुलले पर्यटकीय सिजनमा मौसम प्रतिकूलताका कारण हवाईजहाज नचल्दा हप्तौँ लुक्लामा बस्नुपर्ने विगतको समस्यालाई कम गर्ने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन् । यसअघि मौसमका कारण लुक्लामा पर्यटक अड्किदा कतिपय पर्यटकहरूको भिसाको म्याद सकिने तथा हवाई टिकटको म्यादमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नपुग्दा पर्यटकलाई समस्या पर्ने गरेको पाइन्छ ।
फोटो: खुम्बुलाई स्थलमार्गबाट जोड्ने छिर्दी घाटस्थित दूधकोशी नदीको नवनिर्मित मोटरेबल पुल, तस्विरः छोङबा लामा शेर्पा, टाक्सिन्दु
प्रतिक्रिया राख्नुहोस्