तपाईँ सुन्दै हुनुहुन्छः

घरको छतमा तरकारी लगाएर जीविका चलाउँदै

रामपुर। तरकारी लगाउनका लागि प्रशस्त जग्गा नै चाहिन्छ भन्ने छैन । आफूमा जाँगर र मेहनत भयो भने घरको छतमा तरकारी लगाएर राम्रो उत्पादन गर्न सकिन्छ । पाल्पा रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार बस्ने बिन्दु श्रेष्ठले घरको छतभरि विभिन्न जातका तरकारी लगाएर हरियाली बनाउनुभएको छ । छतमा तरकारी खेती गर्न थालेपछि उहाँलाई बिहान साँझ तरकारी किन्नका लागि पैसा खर्चनु परेको छैन ।

“घरको छतमा तरकारी खेती गर्न थालेपछि साँझ बिहान के तरकारी पकाउने भन्ने पिरलो छैन, बजारमा तरकारी किन्न छाडेको दुई तीन वर्ष भयो, घरकै उत्पादनले पुगिरहेको छ”, उहाँले भन्नुभयो । श्रेष्ठले घरको छत पूरै तरकारी खेतीले ढाक्नुभएको छ । उहाँलाई तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, रेखदेख गर्ने गर्दैमा दिन बितेको पत्तो छैन । घरमा पुग्ने आफन्त छिमेकीलाई पनि तरकारी कोशेलीका रुपमा दिने गर्नुहुन्छ ।

पुष्पा श्रेष्ठले पनि १०÷१२ वर्षदेखि घरको छतमा क्यारी बनाएर तरकारी खेती गर्दै आउनुभएको छ । पहिला तरकारी खरिदमा उहाँलाई दैनिक १५० रकम खर्चनुपथ्र्यो तर अहिले भने आफैँले छतमा उत्पादन गरी बिहान साँझ घरलाई खान पु¥याउनुहुन्छ । “दिनहुँ तरकारीमै १५० रकम खर्चनुपथ्र्यो, बजारमा आएका विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा पनि असर गर्ने, अहिले त तरकारी किन्ने पैसा बचत भएको छ, आफैँले फलाएको स्वस्थ्य तरकारी खान पाइएको छ”, श्रेष्ठले अनुभव सुनाउनुभयो ।

आफूमा जाँगर भयो भने कम मेहनतमा पनि घरको छतमा या कौसीमा तरकारी लगाएर तरकारी किन्ने पैसा बचत गर्न सकिन्छ । काठमाडौँ पोखरा लगायतका विभिन्न बजारका घरको छतमा तरकारी लगाएको देखेपछि ३० हजारको लगानीमा क्यारी बनाएर तरकारी लगाउन थालेको सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँको घरको छतमा अहिले साग, मुला, धनियाँ, सिमी, काउलीलगायतका विभिन्न जातका तरकारी छन् । तरकारीमा मलका लागि स्थानीय जातका कुखुरा पनि पाल्नुभएको छ । मौसमअनुसारका विभिन्न जातका तरकारी उत्पादन गरी घरलाई खान पुग्ने भएपछि बेझाड बजारका नागरिकले घरको छतमा क्यारी बनाएर तरकारी लगाउन थालेका हुन् । घरका छतमा गमला, क्यारी, बोरामा तरकारी लगाएर हरियाली बनाउने गरेका छन् । तरकारी खरिदमा पैसा खर्च गर्नु नपर्ने आफैँले घरमा विषादीरहित उत्पादन गरिएको तरकारीले स्वास्थ्यलाई फाइदा हुने भएपछि अहिले घरको छतमै तरकारी लगाउनेको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button