तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गरिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमलाई सबल कम्पनीको रुपमा व्यवस्थित गराउन सरकारले २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गर्ने बताउनुभएको छ ।

नेपाल टेलिकमको २१ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिको विकास तथा व्यापारमा भएको प्रतिस्पर्धाका बीच नेपाल टेलिकमलाई सक्षम बनाउन सरकारले नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरण गर्ने योजना बनाएको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले हाल नेपाल टेलिकमको अघि प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसलाई सामना गर्ने गरी सेवा प्रवाह, पहुँच वृद्धि र प्रविधिको प्रयोगमामा जोड दिनुपर्ने बताउनुभयो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले नेपाल टेलिकमले देशका सबै वडाहरूमा गुणस्तरीय फोर जि सेवा र इन्टरनेटको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा लगानी प्रवर्द्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुहुँदै मुलुकको सञ्चार तथा सामाजिक सञ्जालहरूलाई व्यवस्थित गर्ने गरी विधेयक  संसदमा दर्ता गरेको बताउनुभयो । 

सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशहरू पारित भएको खण्डमा मुलुकमा सुशासन स्थापना लगानीको वातावरण निर्माणमा कोशेढुंगा हुने पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले ग्राहकका गुनासाको सम्बोधन र सेवाको प्रवाहमा शीघ्रता ल्याउने गरी नेपाल टेलिकमले  काम गर्ने बताउनुभयो । 

उहाँले नेपाल टेलिकमको सेवा विस्तारका लागि आवश्यक टावर लगायतका संरचना निर्माण तथा बिलिङसम्बन्धी योजना छिट्टै कार्यान्वयनमा लैजाने बताउनुभयो । 

सरकारको निर्देशन अनुसार नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरणको लागि आवश्यक प्रक्रिया पनि छिट्टै अघि बढाउने प्रतिबद्धता समेत सचिव अर्यालले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रुपमा आफूलाई अघि बढाउनुपर्ने बताउनुभयो । 

उहाँले प्रतिस्पर्धात्मक क्षमतामा सुधार गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक अध्ययन तथा अनुसन्धान गरेर अघि बढ्न नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहारीले चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह तथा पहुँच वृद्धिको लागि विभिन्न योजना तथा कार्यक्रमहरू अघि बढाएको बताउनुभयो । उहाँले पुष मसान्त सम्ममा नेपाल टेलिकमले २० अर्ब १२ करोड आय आर्जन गरेको र यस आर्थिक वर्षको वित्तीय लक्ष्य प्राप्त गर्न सकिने अवस्था देखिएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button