ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील छ: अर्थमन्त्री पौडेल
रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनुभएको छ। उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नहुने भन्दै वर्तमान सरकारले यी तीनै विषयमा ध्यान दिएको उल्लेख गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमामा निर्माण हुने ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै उहाँले सामाजिक सुरक्षा भत्ताको सुरुवात २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा भएको स्मरण गर्नुभयो ।
तत्कालीन अवस्थामा एक सय रुपैयाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा चार हजार रुपैयाँ पुर्याउन सफल भएको उल्लेख गर्दै पौडेलले यसको मुख्य श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताउनुभयो ।
“बजेट निर्माणका क्रममा प्रधानमन्त्री ओलीले मलाई भत्ता बढाउन निर्देशन दिनुभयो। त्यसैले उहाँको पहलकै कारण ज्येष्ठ नागरिक भत्ता वृद्धि भएको हो,” उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई यसका लागि सम्झिनुपर्छ।”

उहाँले सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा प्रदान गरेको उल्लेख गर्दै अझ धेरै सुधार आवश्यक रहेको बताउनुभयो। रुपन्देहीमा निर्माणाधीन अत्याधुनिक ज्येष्ठ नागरिक मिलन केन्द्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
पाँचतले भवनमा अत्याधुनिक सेवा
तिलोत्तमा नगरपालिका वडा नम्बर-४ मा निर्माण हुन लागेको पाँचतले भवनमा ५० जना ज्येष्ठ नागरिकलाई दिवा सेवा प्रदान गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले समुदाय स्तरबाट ज्येष्ठ नागरिकको हितका लागि भएका प्रयासको प्रशंसा गर्नुभयो भने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकाले पनि केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारीलगायतले संस्थाको योगदानबारे जानकारी गराउनुभयो भने ज्येष्ठ नागरिक रोमनाथ कँडेल र नर्मदा अर्यालले केन्द्रमा रहँदा आफूहरू रोगमुक्त हुँदै खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्