तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

कास्की। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो  । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाक्नु भएको थियो। दिउँसो २ बजे सुरु बस्ने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित  समेत गरेको छ ।

 बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र  त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्रीले सदनमा टेबल गर्नु हुने प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलले जानकारी दिनु भयो । अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने छ । त्यसपछि अर्को बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक विचाराधीन रहेका  छन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन् ।

संसद् आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताउँदै आउनु भएको छ ।   हिउँदे अधिवेशनमा सरकारले गाँजा खेती, भवन मापदण्ड, मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने, विद्युत्, चलचित्र सम्बन्धी, जनस्वास्थ्य विधेयक, खानी तथा खनिजजन्य विधेयक, अपांगतासम्बन्धी विधेयक सदनमा लैजाने तयारी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button