काँग्रेस नगर सभापति अच्युत कलौनीको रहस्यमय मृत्यु : गृहमन्त्री कञ्चनपुरमा, अनुसन्धान जारी

कञ्चनपुर । नेपाली काँग्रेस भीमदत्त नगर सभापति ४० वर्षीय अच्युत कलौनीको मृत्यु घटनाबारे गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुग्नुभएकाे छ । उहाँले घटनाबारे परिवारजन, स्थानीय नेता कार्यकर्ता र प्रशासनसँग जानकारी लिनुभएकाे छ। गृहमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी गणेश चन्द पनि महेन्द्रनगरमा बसेर अनुसन्धानको निगरानी गरिरहनुभइरहेकाे छ।
कलौनीको मृत्यूपछि परिवारजन, आफन्त र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै कडा दबाब दिइरहेका छन्।
कलौनी शुक्रबार साँझ धनगढीबाट फर्किएपछि राति घरतर्फ लाग्कानुभएकाे थियाे, तर उहाँ घर पुग्कानुभएकाे थिएन। शनिबार बिहान भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको सडकपेटीमा उहाँकाे शव फेला परेको थियो। घटना थाहा पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभएको छ।
दुर्घटनालाई गम्भीरताका साथ लिई, प्रहरी टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरेको थियो। यद्यपि, घटनासँग सम्बन्धित अहिलेसम्म ठोस प्रमाण प्राप्त भएको छैन। प्रहरी घटनास्थल र आसपासका सिसिटिभी फुटेजको अध्ययन गरिरहेको छ।
कलौनीको शवमा बाहिरी चोटपटक नपाइएको छ, तर घटनास्थलमा उहाँको किप्याड मोबाइल नभेटिएको र खल्तीमा भएको पर्स सडकमा फेला पर्नु, त्यसमा कुनै पैसा नभेटिनुले शंका उत्पन्न गरेको छ। परिवारले प्रहरीलाई जानकारी दिएको छ कि कलौनीसँग दुई मोबाइल थिए, जसमा एक एन्ड्रोइड मोबाइल साथमा फेला परेको छ, तर अर्को किप्याड मोबाइल हराएको छ। प्रहरीले उक्त मोबाइलको लोकेशन महेन्द्रनगरमा देखिएको जानकारी दिएको छ।
कलौनीको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ र शव परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पतालबाट फरेन्सिक विज्ञहरू महेन्द्रनगर पुगेका छन्। आइतबार बिहान शव परीक्षण सुरु भएको छ, जसबाट कलौनीको मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।
कलौनी नेपाली काँग्रेसका भीमदत्त नगर सभापति र महेन्द्रनगरस्थित बैजनाथ नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्थ्याे। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयवासी र नेता कार्यकर्ताहरूले निरन्तर दबाब जारी राखेका छन्।






प्रतिक्रिया राख्नुहोस्