तपाईँ सुन्दै हुनुहुन्छः

जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुदुधकुण्डमा पानी उत्पादनमा लगानी गर्ने

सोलुखुम्बु  । विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । 

जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो ।

जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरि शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा पानी उद्योग खोल्ने सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पा र जापानीज लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरो बिच सहमति भएको छ । 

सम्झौतासँगै उच्च हिमाली क्षेत्रबाट बग्ने स्वच्छ पानीलाई ब्राण्डिङ गरेर निर्यात गर्दा सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरुवात भएको मेयर शेर्पाको भनाई छ ।

जापानको भ्रमण ऐतिहासिक, सफल र उपलब्धिमूलक भएको उल्लेख गर्दै मेयर शेर्पाले भन्नुभयो, “यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरी जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्नेछ ।” 

उच्च हिमाली क्षेत्रमा हिमालयन एभरेष्ट वाटरको ब्राण्डमा फ्याक्ट्री खोलेर विश्व बजारमा स्वादिष्ट पानी आपूर्ति गरिने सहमति भएको छ । जापानको यानाछि प्रान्तमा भएको छलफलमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक अवाइ ताइचिरोे, सल्लाहकार हिसासि इसिगुरो हिसासी, निर्देशक नोरिहिरो सिजिजाकी, महाप्रबन्धक मिचिहिसा कोबायसी र नेपाली टालीका सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।

परियोजना सञ्चालनमा आएपछि नगरपालिका तथा समग्र जिल्लामा धेरै सङ्ख्यामा रोजगारी सिर्जना भई मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले बताउनुभयो ।

जापानको प्रसिद्ध हिमचुचुरो माउन्ट फुजीका नामबाट खोलिएको यो कम्पनीले नेपालमा पनि मिनरल वाटरमै लगानी गर्न इच्छा सहित यसअघि २०७३ सालमा चेम्बर अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा स्टल समेत राखेको थियो । कम्पनीले सगरमाथालगायतका हिमालको ग्लासियरलाई प्रयोग गरेर पानी उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिएर अनुसन्धानको काम गरिसकेका छन् ।

जापानमा बोटल वाटरमा २० प्रतिशत हिस्सा ओगटेको माउन्ट फुजीमा ३० बिलियन टन ग्लासियर एरिया रहेको र नेपालको सगरमाथा क्षेत्रमा एकसय ४० बिलियन टन ग्लासियर रहेको कम्पनीले जनाएको छ । जापानमा यो कम्पनीले उत्पादन गरेको पानीको मूल्य आधा लिटरको एक सय रुपियाँ पर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button