तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनको असर : मह उत्पादनमा कमी 

चितवन । पछिल्लो समय जलवायु परिवर्तनका कारण हरेक क्षेत्रमा असर परिरहेका बेला मह उत्पादनमा पनि ह्रास हुँदै गएको मौरी विज्ञहरुले बताउनुभएको छ। 

जलवायु परिवर्तनका कारण फूल फुल्ने बोटहरूमा पर्याप्त रस नहुने, फूलको आकार नै सानो हुने भएका कारण मौरीले रस सङ्कलन गर्न नसकेको उहाँहरूको भनाई छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १ का मौरी विज्ञ डा.खेमराज पौडेलले पछिल्ला वर्षहरूमा मौरीका घारको सङ्ख्या बढे पनि सो अनुपातमा मह उत्पादन हुन नसकेको बताउनुभयो  । “अहिले मह उत्पादन नै छैन, ५० प्रतिशत ह्रास आएको धेरै बर्ष हुन थालिसक्यो ।”, डा. पौडेलले भन्नुभयो  ।  आवश्यक रुपमा मौरीले फूल चुस्न नपाउनु, फूलजन्य वनस्पतिमा विषादीको प्रयोग हुनुका कारण पनि मह उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो  । 

देशमा पर्याप्त मात्रामा मह उत्पादन हुनको लागि पर्याप्त चरन क्षेत्र हुनुपर्ने, जङ्गल फडानी हुन नहुने र सरकारले पनि मौरी उत्पादनको लागि चिउरी, रुदिलो, तोरी खेतीलगायत फूल खेतीमा ध्यान दिनुपर्ने मौरी विज्ञ डा.पौडेल बताउनुहुन्छ । उहाँका अनुसार पछिल्ला पाँच वर्षदेखि ५० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको छ ।

भरतपुर महानगरपालिका वडा नं–९ का मह उत्पादक किसान विष्णु भुसालले चरनका लागि दाङ र चितवनको पहाडी गाउँमा मौरी लगे पनि उत्पादन नबढेको बताउनुभयो  । 

“विगतका वर्षहरूको तुलनामा यस पटक मह उत्पादनमा आधाले गिरावट आयो । कारण चिउरीको फूल नै कम फुले, फुलेका फूलहरू पनि साना भए ।”, भुषालले भन्नुभयो, “हामीले विज्ञहरूलाई सोध्दा जलवायु परिवर्तनको असरले नै भन्नुहुन्छ ।” 

उहाँका अनुसार विगतका वर्षमा एउटा घारबाट सात किलोसम्म मह निस्केको थियो, तर अहिले चार  किलो पनि निस्कन मुश्किल छ  । मौरीको सङ्ख्या बढ्दा पनि उत्पादनमा कमी आएको उहाँको भनाई छ  ।

चितवनको कालिका–१० र ११ नं वडामा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । अहिले चिउरी फुल्ने मौसम भएकाले दाङ, कपिलवस्तु, मकवानपुर नवलपरासी र चितवनका मौरी पालक किसान मौरी चराउन सिद्धिका डाँडाको फेदीमा पुगेका छन् ।

मह उत्पादक किसानहरु नै मह उत्पादनमा कमी आएको बताइरहेका छन् । अर्का स्थानीय किसान अशोक बस्नेत विगतका वर्षहरूको तुलनामा यस पटक मह उत्पादनमा कमी आएको बताउनुहुन्छ । “मौरीको सङ्ख्या प्रशस्त छ, समय पनि दिन मिलाएर मह निकालिएको छ, तर घरमा गत वर्ष जति मह उत्पादन भएको थियो अहिले त्यति छैन ।”, उहाँ बताउनुहुन्छ । उहाँका अनुसार चिउरीको बोटभरि फूल नै छैन, फुलेका फूलमा पनि रस कम छ जसले गर्दा मौरीले पर्याप्त मह दिन सकेन ।

नेपाल मौरी पालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले देशभरका मौरी पालक किसानको मह उत्पादनमा ह्रास आएको बताउनुभयो  । “चिउरी कटान गर्न त्यहाँको सामुदायिक वनले रोक लगाएको छ । चिउरीको घाँस काट्न पनि रोक लगाइएको छ, तर केही भागमा बाख्रालाई खुवाउनका लागि चिउरीका हाँगाबिँगा काटिएको पाइन्छ ।”, पौडेलले भन्नुभयो , तर जति चरन क्षेत्रमा लगे पनि उत्पादन बढ्न सकेको छैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button