बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको मोटरेबल पुल सञ्चालनमा
बागलुङ । बागलुङ र पर्वत जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको मोटरेवल सञ्चालनमा आएको छ ।
गत महिना निर्माण सम्पन्न भएको पुल केही दिन अघि मात्र सञ्चालनमा आएको हो ।
पुल सञ्चालनमा आएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सहज हुने भएको छ ।
पुल निर्माणका लागि वि.सं.२०७३ असोज ९ मा सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण गत महिना मात्र पुल निर्माण कार्य सम्पन्न भएको हो ।
पुलको पर्वत खण्डमा पहरो परेकाले ५० मिटर सडक बगाएको र नयाँ निर्माण गरि सञ्चालनमा आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुलले बागलुङको जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका ६ जोडेको छ ।
पुल बन्नुभन्दा अगाडि पोखरा पुग्न बागलुङको मालढुङ्गा र मिर्मी पुग्नु पर्ने बाध्यता रहेको सुनाउँदै उहाँले अब सिधैँ पर्वत निस्किएर जान सकिने बताउनुभयो । पोखरा पुग्न १ घण्टाभन्दा बढी समय छोटिएको उहाँको भनाई छ ।
जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । अहिले पर्वत पट्टीको सडक थप व्यवस्थित बनाइरहेको भन्दै कुश्मा पुग्ने समय पनि छोटिएको उहाँको भनाइ छ ।
पुल १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्