बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
बागलुङ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।
बागलुङका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका दोस्रो बालमैत्री नगर घोषणा भएको हो । ५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
बालमैत्री स्थानीय शासन घोषणा कार्यको उद्घाटन गर्नुहुँदै उप–प्रधान तथा सहरी भवन विकाश मन्त्री प्रकाशमान सिंहले बालबालिकाको उज्जल भविष्य र मुलुकको अर्थतन्त्र सुधार तथा समृद्धि र विकासको लागि बालमैत्री नगर घोषणा कार्य महत्त्वपूर्ण रहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बालमैत्री स्थानीय शासनयुक्त नगरको अन्तिम प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धता अनुसार बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको जानकारी दिनुभयो ।
शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन नगरपालिकाले गरेपछि बालमैत्री नगरपालिका घोषणा गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्