दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर १ र ७ को बीचमा पर्ने ठाने खोला भिरमा दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइतबार दिउँसो दुधकोशी सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगलागी साँझ केही कम भए पनि सोमबार बिहानबाट फेरि फैलिन थालेको हो । डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली फिल्डमा खटिएका छन् ।
स्थलगत अवस्था बुझ्न र आगो नियन्त्रणका लागि माप्य दूधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई, कार्लपालिका सदस्य आङकाजी शेर्पा, स्थानीय युवाहरूको टोली पनि त्यहाँ खटिएको छ । अप्ठेरो भूगोल र हावाहुरी चलिरहेको हुनाले आगो निभाउन समस्या भइरहेको बताइएको छ । डढेलो बढ्दै जाँदा अहिले थाल डाँडा कटेर खुम्बु क्षेत्रमा पर्ने सगरमाथा सामुदायिक वन क्षेत्रको भागमा आगो फैलिरहेको माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
डढेलो अझै नियन्त्रणमा लिन नसके सिबुचे, खुम्बुको पाङगोम् हुँदै सगरमाथा राष्ट्रिय निकुञ्ज पुग्नेछ र गाउँ पस्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । त्यसो हुन नदिन सम्बन्धित निकाय, जनप्रतिनिधि र सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।
आगलागी कसरी सुरु भयो यसको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्