तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचन प्रणाली सुधार्नुपर्छ’

काभ्रेपलाञ्चोक । नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी, समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेकोले यसलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

संसदीय मामिला पत्रकार समाजले आज काभ्रेमा आयोजना गरेको ‘नेपालमा निर्वाचन प्रणाली सुधार’ विषयक अन्तरक्रियामा वक्ताहरूले हालको निर्वाचन प्रणालीबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सिर्जना हुँदा राजनीतिक अस्थिरता बढ्दै गएकाले यसमा संशोधन आवश्यक रहेको धारणा राख्नुभयो ।

कुनै पनि दलको एकल बहुमत नहुँदा सरकारको अस्थिरता, कार्यसम्पादनमा समस्या र विश्वासको कमीजस्ता समस्याले निर्वाचन प्रणालीलाई सुधार्नुपर्नेमा वक्ताहरूले जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सत्तासीन ठूला दलहरूबीच संविधान संशोधनबारे सहमति भए पनि के–के कुरामा कस्तो संशोधन हुन्छ भन्ने स्पष्ट खाका आउन नसकेको र निर्वाचन प्रक्रियाबारे पनि अस्पष्टता देखिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सङ्घीय प्रणालीमा समानुपातिक प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीमगरले मतदाताको विश्वास जित्नका लागि निर्वाचन क्षेत्रको पुनः संरचना र पारदर्शी प्रणालीको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोषिमा कार्की र जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्थिर सरकारका लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न संविधान संशोधनको आवश्यकता औँल्याउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन प्रणालीमा सुधार आवश्यक भए पनि विस्तृत अध्ययन नभई निर्वाचन प्रणाली फेर्न नहुनेमा जोड दिनुभयो ।

पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button