तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज सहित मधेश प्रदेशमा सातौँ बलिदानी दिवस मनाइयो 

बीरगंज । बीरगंज सहित मधेश प्रदेशमा आज सातौँ बलिदानी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । बलिदानी दिवसको अवसरमा वीरगञ्जस्थित घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमामा माल्यार्पण गरिएको छ ।

माल्यार्पण पछि आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष अशोक राईले सङ्घीयतालाई संस्थागत गर्न मधेस आन्दोलनको भूमिका प्रभावकारी रहेको बतउनुभयो । उहाँले बलिदानी दिवस मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्ने दिवस भएको कुरामा जोड दिँदै यसैको बलमा राज्यको पुनर्संरचना भएको दाबी गर्नुभयो ।  

कार्यक्रममा जसपाका केन्द्रीय सहमहामन्त्री एवम् नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले मधेस आन्दोलनमा सहिद भएका व्यक्तिहरूको बलिदानी र सहिदहरूले देखेको सपना पुरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने कुरामा जोड्दिनुभयो । सो अवसरमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले मधेस आन्दोलनकै बलमा मधेसमा आमूल परिवर्तन भएको र मुलुकको संस्थागत विकास र सङ्घीयताको मजबुतका लागि मधेस आन्दोलन महत्त्वपूर्ण कडी भएको दाबी गर्नुभयो । कार्यक्रममा जसपाका केन्द्रिय उपाध्यक्ष सुशीला श्रेष्ठ, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वरिष्ठ नेता प्रेमबाबु पटेल, नेताहरू उमेशलाल साहनी, नेकमहम्द अन्सारी, तबरेज अहमद, मुकेश द्विवेदी, ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो । विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ । रमेश महतोको निधनसँगै सुरु भएको आन्दोलनले मधेशमा सङ्घीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो ।

२०६२/०६३ सालको जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको विरोधमा मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो । माघ २ गते सुरु भएको आन्दोलनको क्रममा माघ ५ गते लहानमा रमेश महतोको निधन भएको थियो । त्यसपछि मदेसभर व्यापक आन्दोलन भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका मागहरू सम्बोधन गर्न अन्तरिम संविधान संशोधन गर्ने सम्झौतापछि २१ दिने आन्दोलन स्थगित गरिएको थियो । यही आन्दोलनलाई मधेश जनविद्रोहका रूपमा चिनिन्छ ।

मधेश प्रदेश सरकार गठन भएदेखि शहीदहरूको सम्मानमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने परम्परा सुरु गरिएको छ । यस दिनलाई मधेश आन्दोलनको बलिदान र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button