पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ।हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचाँै अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य पदकसहित प्रथम उपाधि जितेको हो ।
पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेसँगै पिपलडाँडा देविस्थान मावि मङ्गलटारले रनिङ शिल्ड राखेको छ । लगातार तेस्रो र चौथो संस्करणको उपाधि जितेको पिपलडाँडा देविस्थान मावि मङ्गलटारले पाँचौँ संस्करणसमेत जितेपछि रनिङ शिल्ड राखेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो ।
विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि आयोजना गरिएको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुलापन्थे मावि धितुङ पाँच स्वर्ण, दुई रजत र चार कास्य पदकसहित द्धितीय तथा ज्योति मावि राजापानी चार स्वर्ण, पाँच रजत र चार कास्य पदकसहित तृतीय भएका छन् । यस्तै, दुर्छिम मावि दुर्छिम चौथो, कालिका मावि पाँचौँ, सरस्वती मावि छैटौँ, हलेश्वर बोर्डिङ स्कूल सातौँ, लक्ष्मी मावि आठौँ, दाम्ली मावि र महेन्द्रोद्धय मावि नवौँ, कालिकादेवी मावि दशौँ, च्यास्मिटार मावि एघारौँ र जनता मावि बाह्रौँ भएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालयले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र तथा अन्य विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलकुद प्रतियोगिता समापनसँगै साँस्कृति कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रममा उपाधि विजेता विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले पुरस्कार वितरण गर्नुभएको छ ।
हलेसी तुवाचङ नगरपालिका–१० अर्खाैलेस्थित सालपा खेलमैदानमा आयोजना गरिएको पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन यही माघ–२ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिकरुपमा गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ सामुदायिक र एउटा संस्थागतगरी १३ माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी भएका थिए ।
पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु सात लाख बजेट उपलब्ध गराएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थी, खेल शिक्षक र व्यवस्थापकका लागि खाना, खाजा र वासको व्यवस्था आयोजकले गरेको जनाइएको छ ।
नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका साथै खेल क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाको लगानीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । “भौतिक विकासले मात्र समृद्ध नगर सम्भव छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले सम्भव हुँदैन । सबै क्षेत्रको उत्तिकै सहभागिता आवश्यक छ । आगामी दिनमा नतिजा देखिनेगरी काम गर्न सबैसँग आग्रह गरिरहेका छौँ ।”
अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीले दिक्तेलमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिले हुने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।
प्रतिक्रिया राख्नुहोस्