मेयर्स कप अन्तरविद्यालय क्रिकेट: प्रेसिडेन्सी र स्मल हेभन विजयी
चितवन । ग्रासरुट क्रिकेटको विकास गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (मङ्गलवार) भएका खेलहरूमा प्रेसिडेन्सी कलेज र स्मल हेभन स्कुल विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा प्रेसिडेन्सी कलेजले भृकुटी बोर्डिङ स्कुललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । भृकुटीले दिएको ३७ रनको झिनो लक्ष्य पछ्याएको प्रेसिडेन्सी ३.५ ओभरमा १ विकेट गुमाउँदै जित निकाल्यो। उसका लागि सुभम शर्मा र विधान न्यौपानेले समान अविजित ९ रन बनाए । भृकुटीका लागि एक मात्र विकेट जितेन्द्र यादवले लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भृकुटी ७.५ ओभरमा ३६ रनमै अलआउट भयो । जारी प्रतियोगितामा सबैभन्दा कम रन बनाउने टिम भृकुटी बनेको छ । भृकुटीका लागि रविन्स मोक्तानले अविजित १५ रन बनाए । भृकुटीलाई सस्तैमा समेट्न प्रेसिडेन्सीका कप्तान विधान न्यौपानेले ४ ओभरमा ८ रन खर्चिँदै ६ विकेट लिए । रोजन न्यूरेले एक विकेट लिए । ६ विकेट र अविजित ९ रन बनाएका कप्तान विधान प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा एपेक्स एकेडेमीविरुद्ध स्मल हेभन स्कुलले १ रनको रोमाञ्चक जित हात पारेको छ । ११५ रनको लक्ष्य पछ्याएको एपेक्स ११३ रनमा अलआउट भएपछि स्मल हेभन एक रनले जित हात पारेको हो । १९औँ ओभरमा २ विकेट गुमाएपछि एपेक्स जित नजिक पुगेर पनि हार्न पुगेको थियो ।
पहिले ब्याटिङ गरेको स्मल हेभन स्कुलले १६ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो । उसका लागि खोमराज भट्टले २१, रोमान्सु थापाले २० रन बनाए । स्मल हेभनलाई अलआउट गर्न एपेक्सका तोलप्रसाद काफ्लेले ४ ओभरमा १८ रन खर्चिएर ६ विकेट लिए । आज भएका दुवै खेलमा दुई बलरले ६ विकेट लिन सफल भएका हुन् ।
प्रतियोगिता अन्तरगत भोलि पनि दुई खेल हुनेछन् । बिहान ९ः३० बजे हुने खेलमा अर्बिट इङ्लिस स्कुल र विजय इङ्लिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे ग्राण्डी इङ्लिस स्कुल र होलीभिजन पब्लिक स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल भइरहेका छन् । यसबाट विजयी भएका टिमहरुबीच पुनः दोस्रो चरणको छनोट हुनेछ । त्यसबाट विजयी टिम लिग चरणमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्