धनुषाधाममा मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा
जनकपुरधाम । धनुषा जिल्लाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा भोली देखि शुरु हुने मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
माघ महिनाको हरेक हप्ताको आइतबार तथा मङ्गलवार लाग्ने मक्कर मेलाको शुभारम्भ यस पटक मङ्गलवार नै परेको छ । धनुषाधाममा लाग्ने मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ ।
धनुषाधामको मक्कर मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको विभिन्न प्रदेशबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गरेको छ ।
धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गरेको खण्डमा चिताएको सबै कुरा पुरा हुने भएकाले ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएका थिए ।
तीन टुक्रा मध्ये एक पाताल अर्को आकाश तथा तेस्रो धनुषाको धनुषाधाममा खसेका थिए । धनुषाधाममा धनुषको आकार जस्तो देखिने अलौकिक धातु अहिले पनि रहेको र सो धातु नै भगवान् शिवको पिनाक धनुष रहेको धार्मिक मान्यता रहेको कारणले मक्कर मेलामा धनुषको दर्शनका लागि लाखौँ भक्तजनहरू धनुषाधाम पुग्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्