सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ समारोह माघ १ गते सुरु हुँदै
तीन दिनसम्म विभिन्न विषयगत छलफल गरी ठोस निष्कर्ष निकालिने
काठमाडौँ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण–पिएसबीमा रूपान्तरण भएको सन्दर्भमा विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (PSB Pre Launching) कार्यक्रम आयोजना गरिँदै छ ।
भोलि माघ १ गतेदेखि ३ गतेसम्म पूर्वारम्भ कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल टेलिभिजनको स्टुडियो हलमा माघ १ गते उद्घाटन तथा विषयगत छलफल(Panel Discussion) एवम् माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा कार्यक्रमको समापन समारोह आयोजना हुँदैछ ।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टका अनुसार, पिएसबीको अन्तर्राष्ट्रिय अभ्यास, लोकतन्त्रको सबलीकरण र राष्ट्र निर्माण, शिक्षा र स्वास्थ्य सेवा, विपद्को सूचना र शिक्षामा साझेदारी, विषयवस्तुको प्राथमिकता, सामाजिक रूपान्तरण, पिएसबी सञ्चालन र स्थायित्व एवम् प्राविधिक रूपान्तरण र डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा हुने गहन छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार, उल्लेखित विषयगत छलफलबाट पिएसबीमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सहज रूपान्तरण र सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुनेछ ।
भोलिदेखि सुरु हुने पूर्वारम्भ कार्यक्रमको उद्घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको रेडियो, टिभी र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारणसमेत गरिने छ ।
समारोहको उद्घाटन र समापनको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ हुनुहुनेछ भने प्यानलिष्टमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सरोकारवाला पक्ष र विषयविज्ञहरू सहभागी हुनुहुनेछ ।
यसैबीच त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्यालले पिएबी सञ्चालनको प्रारूपबारे व्याख्या गर्नुहुँदै राजनीतिक व्यापारिक स्वार्थबाट मुक्त भई सन्तुलित समाचार यसले सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो ।उहाँले पिएसबी व्यापारिक र निहित स्वार्थभन्दा माथि उठेको हुनुपर्ने र यसले जनताका आधारभूत सञ्चारको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्