‘भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ’
बनियानी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्वसम्बन्धी समस्याका समाधानका लागि आज आयोजना गरेको सरोकारवालहरूसँगको अन्तरक्रियामा सभामुख घिमिरे भूमिसम्बन्धी समस्या समाधानमा देखिएको समस्या समाधान गर्न सरकार र आयोगले लाग्नुपर्नेमा जोड दिनुभयो ।
विसं २०२०÷२१ देखि भूमिसम्बन्धी समस्या भए हालसम्म समस्या समाधान नभएको बताउँदै उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन भए अवस्था उस्तै छ, तर समाधानका लागि निरन्तर लाग्नुपर्छ, इमान्दार र जिम्मेवार भएर सबै लाग्नुपर्छ । नीतिगत समस्या छ भने नयाँ ऐन बनाएर समस्या समाधान हुनुपर्छ ।”
भूमि आयोगले समस्या समाधान गर्नुपर्ने भए राजनीतिक अस्थिरताका आयोगले काम गर्न नसकेको बताउनुहुँदै उहाँले आयोगलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गिरीबन्धु टि–स्टेटको जग्गा विवाद सम्बन्धित अड्डाले तत्काल गर्नुपर्ने बताउँदै सभामुख घिमिरेले भन्नुभयो, “छिटो गर्नुपर्छ, सक्ने नसक्ने, प्रधानमन्त्रीले गर्ने कि मन्त्रिपरिषद्ले गर्ने जसले गरे पनि छिटो गर्नुपर्छ ।”
अर्जुनधारा नगरपालिका–१ स्थित साधुटारमा नेपाली सेनाको फाइरिङ अभ्यास स्थलको रूपमा प्रयोग भइरहेको नौ सय ३५ बिघा १० कठ्ठा १० धुर जग्गा तथा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको समस्याका बारेमा स्थानीयवासी मुक्तिनाथ न्यौपानेले पीडितको समस्या समाधान गरेर सरकारले नियमानुसार धनीपूर्जा दिनुपर्ने माग गर्नुभयो ।
अर्जुनधारा–७ लगायत बिरिङ टाङटिङ लगायतका नदी उकास जग्गा, नम्बरी जग्गामा खोला बग्ने र खोला जनिएको क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको समस्याका बारेमा जानकारी गराउँदै अर्का स्थानीयवासी अमृत लामिछानेले सो स्थानमा २०२१ सालदेखि खोला बगेको बताउनुभयो । “२०१८ सालदेखि त्यहाँ मानव बसोबास छ”, उहाँले भन्नुभयो, “२०३६ सालमा आयोगले हाम्रो खोजी गर्दा खुसी भयौँ तर अहिलेसम्म केही भएन ।”
अर्जुनधारा–८ हात्तीकिल्लास्थित मोरङको केनिन कम्पनीको एक सय चार बिघामा बसोबास गर्ने स्थानीयको समस्याका बारेमा अर्जुनधारा–८ का टङ्क घिमिरेले २०४८÷४९ सालमा कम्पनीको एक सय चार बिघा जग्गा सरकारले जफत गरेको बताउँदै सरकारले जफत गरेको जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने प्रश्न गर्नुभयो । उहाँले सो जग्गा पटक–पटक किनबेच भएर करिब ६५ परिवारले भोगचलन गर्दै आएको सुनाउनुभयो ।
अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको ५१ बिघा जग्गामा बसोबास गर्नेहरूको समस्याका बारेमा सुजन शिवाकोटीले यहाँ झण्डै ३० वर्षदेखि जग्गा किनेर मानिसले बसोबार गर्दै आएको बताउनुभयो । घर–जग्गा रोक्का हुँदा स्थानीयबासी पीडित भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
मालपोत कार्यालय झापाका प्रमुख राजेशप्रसाद पोखरेलले १० वर्षसम्म भोगचलन गरेको जग्गाको धनीपूर्जा दिने व्यवस्था भए पनि वन ऐनले रोकेको बताउनुभयो । समस्या समाधानका लागि आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँ सेवाग्राही मात्र होइन, कर्मचारी पीडित भएका छौँ, हामी आदेशअनुसार काम गर्ने हो, सेवाग्राहीले हामीले काम नगरेजस्तो गर्नुहुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्