उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्दै नरैनापुरको १६ औँ हिउँदे अधिवेशन सम्पन्न
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नु भएको छ ।
गाउँपालिकाको १६ औँ हिउँदे गाउँसभाको अधिवेशनको अवसरमा महेन्द्र मा.वि. मटेहियाका २.९६ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गर्नु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले ध्रुवराज गुप्ता र शिला कुमारी पाललाई सम्मान स्वारुप ल्यापटप वितरण गर्नु भएको थियो । यस्तै लोक सेवा तयारीका लागि पालिकाका उत्कृष्ट विद्यार्थी सपना कोइरालालाई पनि ल्यापटप प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहले ‘विद्यार्थीहरूको मेहनत र समर्पणले समुदायलाई प्रेरित गर्नेछ । यस्ता प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।’ उहाँले सामुदायिक विद्यालयहरूमा शिक्षाको स्तर सुधार गर्न कटिबद्ध रहेको बताउँदै विद्यार्थीहरूको उपलब्धिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष शाहले विद्यार्थीहरू आफ्नो लगनशीलता र मेहनतले नरैनापुरको प्रतिष्ठा बढाउनेमा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो ।
उहाँले ‘हाम्रो पालिकामा अन्य विकास कम किन नहोस् तर शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा विशेष ध्यान दिनेछु ।’ त्यति मात्र नभएर अध्यक्ष शाहले युवाहरूको शिक्षामा लगानी गर्न गाउँपालिका विशेष योजना अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको थियो ।
पालिका अध्यक्ष शाहले १६ औँ गाँउसभामा प्रस्ताव गर्नु भएको चालु आर्थिक वर्षका लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताव स्वीकृत गर्दै अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुन बाँकी कामहरूको बारेमा ६ वटै वडाका अध्यक्षहरूले आआफ्नो धारण राखेका थिए । विशेष गरि वडा अध्यक्षहरूको धारणा बिकास र बजेटमा केन्द्रित रहेको थियो । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरू र गाउँपालिकाको गतिविधि बारे सभामा प्रश्न उठाइएको थियो ।
उक्त सभामा उठाएका सम्पुर्ण प्रश्नहरूको गाउँपालिका अध्यक्ष शाहले जबाफ दिनु भएको थियो । सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष शाहले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनु भयो । हामीले गरेका कामहरूमा कुनै पनि अवरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरू उत्कृष्टतापूर्वक सम्पन्न भएको अध्यक्ष शाहको भनाई थियो । उहाँले भन्नुभयो, बाँकी रहेका विभिन्न क्षेत्रमा विनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने जिकिर गर्नु भयो ।
अहिले सम्मका कामहरूको सबै क्षेत्रबाट प्रशंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरूलाई अध्यक्ष शाहले आग्रह समेत गर्नु भएको थियो । सभामा उपस्थित सबै जनाले सामूहिक रुपमा विकासका काममा लाग्ने सबैले सबैलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव नवराज वलीले चालु आर्थिक वर्षको हाल सम्मको प्रगति विवरण र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजुको विषयमा फछ्याैटको प्रक्रियालाई अघि बढाउने प्रस्ताव पेश गर्नुभएको थियो । सभाले बेरुजु रकम वसुल गरी फछ्याैट गर्न स्वीकृति प्रदान गर्दै बैठक सम्पन्न भएको योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्