‘गण्डकीका धुनहरू’ साङ्गीतिक कार्यक्रम हुँदै, ४० जना कलाकारद्धारा नेपाली मौलिक धुन प्रस्तुत गरिने
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भोलि (शनिबार) मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू (अर्केष्ट्रा) कार्यक्रमको हुने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरा साङ्गीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा गण्डकी प्रदेशको लोक संस्कृति तथा कलाको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजनाको तयारी गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनु भयो ।
काठमाडौँ र गण्डकीका वरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रम मार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनहरूको प्रत्यक्ष अनुभूत गर्न पाइने उहाँले बताउनुभयो । राष्ट्रिय एकता दिवसको सन्दर्भ पारी कलाकारले संयुक्त रुपमा नेपाली मौलिक धुन प्रस्तुत गर्ने भएको हो । अपराह्न ३ः४० बजे प्रतिष्ठानको भानु हलमा सुरु हुने कार्यक्रममा नेपाली धुनमार्फत कीर्तिशेष स्रष्टाहरू प्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रति आकर्षित गराउने र साक्षात्कार गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रमका सङ्गीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरूप प्रदर्शन गर्न लागिएको बताउनु भयो । नेपाली सङ्गीत विश्व स्तरमा परिचित गराउने प्रारम्भिक चरणको काम हुने उहाँले जनाउनु भयो । साथै कार्यक्रममा सातै प्रदेशको प्रतिनिधि मूलक धुनहरू समेत प्रस्तुत गरिने भएको छ । परम्परागत रुपमा रहेका सुर र ताल बाजालाई संयोजन गरिने छ । अर्केष्ट्रा चारवटा फेजमा प्रस्तुत गरिनेछ । १८ वटा प्रस्तुती ५८ मिनेटमा गरिने संयोजक राईले जनाउनु भयो ।
यस्तै ,गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी माघ १९ देखि २६ सम्म प्रज्ञा प्रतिष्ठानको भानु सभा हलमा आन्तरिक र बाह्य पर्यटकका लागि संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखी लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने भएको छ । माघ २६ गते नै ब्याक टु ९० (कन्सर्ट) कार्यक्रम मार्फत पोखराका हिजोका चर्चित ब्यान्डहरूलाई पुनः क्रियाशील बनाउने भूमिका खेल्नेछ । यस्तै फागुन ५ देखि ९ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी समेत पोखरामा आयोजन हुनेछ ।
प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले सबै कार्यक्रमलाई सुन्दर बनाउन मेहनत गरिरहेको बताउनु भयो । पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङले गण्डकीका धुनहरू कार्यक्रम सँगै प्रतिष्ठानले आयोजना गर्न लागेको ’ब्याक टु नाइन्टीज’ कार्यक्रम मार्फत पोखराका पप ब्यान्डलाई साङ्गीतिक क्षेत्रमा कमव्याक गराउन भूमिका खेल्ने अपेक्षा गर्नुभयो । साढे २ घण्टा सम्म हुने लाइभ कन्सर्टको लागि हालसम्म त्यसबेलाका चर्चित ७ वटा ब्यान्डको प्रस्तुती निश्चित भइसकेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सबैको एकताका कारण आफ्नो कार्यकाल सफल रहेको दाबी गर्दै कला क्षेत्रको सीपले अवसरहरूको समेत सिर्जना गर्ने गरेको बताउनु भयो ।
गण्डकी प्रदेशको कला, साहित्य, सङ्गीत र संस्कृतिको वृद्धि–विकास, प्रवद्र्धन र सम्बद्र्धनका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठान २०७८ सालको वैशाखमा स्थापना भएको हो । प्रतिष्ठानले गण्डकीका स्रष्टाहरूलाई विश्व भरी चिनाउन ६० जना स्रष्टाहरूको श्रव्यदृश्य मार्फत बायोग्राफी निर्माण गरी प्रतिष्ठानको वेबसाइट र युट्युब च्यानलमा राख्ने काम गरिसकेको जनाएको छ । स्रष्टाहरूका हितका लागि दुई सय स्रष्टाहरूको स्वास्थ्य बिमा गर्ने काम मात्र नभएर नाग नागीनी नाच, कुमाल, जलारी र विश्वकर्मा समुदायको जीवनीमा आधारित डकुमेन्ट्री निर्माणको काम सम्पन्न भएको सदस्य सचिव श्रेष्ठले बताउनु भयो ।
गण्डकी प्रदेशमा अवस्थित ३५ जातिको सामाजिक र साँस्कृतिक विषयमा अनुसन्धान सम्पन्न भएको छ । लोपोन्मुख गीतहरू मगरको सोरठी, घाँटु, बालन, जिबैमाम, गुरुङको सोरठी, ह्योल्मो समुदायको गीत, गन्धर्व गीत, छ्याडु रेकर्ड गर्ने र युटुवमार्फत प्रचार प्रसार गर्ने काम गरेको उल्लेख गरिएको छ । यस अवधिमा ५७ वटा लोपोन्मुख संस्कृतिको दृश्य छायाङ्कन गरी प्रचार गर्ने काम तथा एक दर्जन जति अनुसन्धानबाट प्राप्त विषयका आधारमा कृति प्रकाशन भएका छन् ।
नयाँ पीढीलाई आफ्नो भाषा र बाजा प्रति उत्तरदायी बनाउन प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरी भाषा तर्फ १ हजार ५ सय ९७ जना र बाजा तर्फ ७ सय ३९ जना प्रशिक्षार्थी उत्पादन गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानले स्रष्टा स्मृति पार्क, पुस्तकालय, वाल–गेट, चौतारो, श्रव्य दृश्य कक्ष निर्माण सम्पन्न गरेको छ । एकसय भन्दा बढी वाङ्मय संस्थाहरूसँगको सहकार्यमा नाटक लेखन, नाटक निर्देशन, नृत्य कार्यशाला, साहित्यिक गोष्ठी तथा महोत्सव, कला प्रदर्शनी, विभिन्न प्रतियोगिता समेत सम्पन्न गरिसकेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्