तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर चौदण्डीगढीमा अन्तर विद्यालय अण्डर–१३ फुटबल प्रतियोगिता हुँदै

उदयपुर । व्यावसायिक खेलाडी उत्पादनका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा अन्तर विद्यालय अन्डर–१३ फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

आयोजक ‘दि गोर्खाज फुटबल एकेडेमी’ चौदण्डीगढी–४ बसाहाले आज पत्रकार सम्मेमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । 

पालिका भित्रका १३ बर्ष मुनिका विद्यार्थीहरू सहभागिता हुन पाउने यस प्रतियोगिताबाट उत्पादित उत्कृष्ट खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर फुटबल प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको विशेष आर्थिक सहयोग तथा जनसमुदाय स्तरको समेत सहयोगमा आयोजना गर्न लागिएको आयोजक ‘दि गोर्खाज फुटबल एकेडेमी’ चौदण्डीगढी ४ बसाहाले जनाएको छ । 

नगर भित्रका विभिन्न १५ विद्यालयले सहभागिता जनाउने प्रतियोगिता यही माघ १ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छ । 

प्रतियोगिताको प्रथम टोलीले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले २५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

प्रतियोगितामा म्यान अफ दी म्याच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाइ स्कोरर, प्रतियोगिता कै उत्कृष्ट खेलाडी लगायतका विधामा समेत खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने आयोजक ‘द गोर्खाज फुटबल एकेडेमी’ बसाहाका प्रमुख सल्लाहाकार शेखर राईले जानकारी दिनुभयो ।

गत बर्ष पहिलो संस्करणको अन्डर–१३ फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न गरिएको भएपनि खेलाडी छनोट गरेर नराखिएको भन्दै आयोजकले यस वर्षबाट आयोजना गरिएको अन्डर–१३ फुटबल प्रतियोगिता जिल्ला खेलकुदको प्रत्यक्ष उपस्थितिमा खेलाइने र जिल्ला खेलकुदले  प्रतियोगिताका उत्कृष्ट खेलाडी मध्ये ३० जना खेलाडीहरूलाई छनोट गर्ने प्रमुख सल्लाहाकार राईले जानकारी दिनुभयो । 

यसरी छनोट भएका खेलाडीहरूलाई एकेडेमीले आफ्नो क्याम्पमा राखेर सधैँ प्रशिक्षण दिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button