जुम्लामा सूचिकृत बेरोजगार सङ्ख्या १४ हजार बढी
जुम्ला । जुम्लामा सूचिकृत बेरोजगारको सङ्ख्या उल्लेखीय रुपमा वृद्धि भएको छ । सिप क्षमता र दक्षताअनुसार काम नपाएर कामविहीन बनेका सूचिकृत बेरोजगारको सङ्ख्या जुम्लामा बढ्दै गएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म मात्रै १३ हजार ३३ जना सूचीकृत बेरोजगार रहेको जुम्लामा ९ महिनाकै अवधिमा करिब १५ सयले सूचिकृत बेरोजगार बढेका छन् । चालु आर्थिक वर्ष २०८१/८१ को पुस २३ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जुम्लामा सूचीकृत बेरोजगारको सङ्ख्या १४ हजार ५ सय ४३ जना पुगेको छ ।
सूचिकृत बेरोजगारमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ । जुम्लाका कूल सूचीकृत बेरोजगार मध्य महिला ८ हजार ५ सय ८९ जना र पुरुष ५ हजार ९ सय ५४ जना रहेका छन् । हालसम्म जुम्लाका २८ जना मात्रै प्रत्यक्ष रोजगारीमा संलग्न भएको तथ्याङ्कले देखाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत जुम्लामा चालु आवमा कूल ५० वटा आयोजना निर्माण हुने छन् । ५० वटा आयोजनामा निश्चित युवाले मात्रै काम पाउने र अधिकांश युवा कामविहीन हुनु पर्ने भएकोले स्थानीय तहहरुले पालिकाका अन्य विकास निर्माणका काममा सूचीकृत बेरोजगारको प्रयोग गर्ने नीति बनाउन जरुरी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्