बुटवलको मेलामा ४ लाख दर्शक: २५ करोड कारोबार
रुपन्देही । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा ४ लाख दर्शकले अवलोकन गर्दा करिब २५ करोड बराबरको कारोबार भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारासहित आयोजना गरेको १६ दिने मेला बिहीबार सकिएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका हरिप्रसाद अर्यालले मेलामा ४ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको र यहाँ रहेका ५ सय स्टलबाट २५ करोड रुपैयाँ बराबरको कारोबार भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले युवा जनशक्तिको पलायनसँगै सीप र दक्षता पनि पलायन भइरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडि पर्ने भएकाले विदेशमा जस्तै काम गर्दै पढ्दै गर्ने परम्परा विकास गर्नुपर्ने भनाई राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घले गरेको यो मेला २४ औँ संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यावसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिष्कृत रुपमा मेला आयोजना गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । उहाँले शिथिल अर्थतन्त्रका कारण ठूलो चुनौतीका बिच गरिएको मेलाको सफलताले धेरै खुसी मिलेको जनाउनुभयो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेकट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिनमा ५ सय स्टल थिए ।
उत्कृष्ट स्टललाई नगदसहित सम्मान
मेलामा उत्कृष्ट स्टललाई सम्मानसहित नगद पुरस्कार गरिएको छ । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठन गरिएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका आधारमा उनीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
मेलामा सहभागी स्टलमध्येबाट नेपाल सेरामिक इण्डष्ट्रिज प्रालि. प्रथम भएको छ । त्यस्तैगरी कोसेली मूर्तिकला उद्योग द्वितीय, कानुन बचत तथा ऋण सहकारी संस्था तृतीय र दुर्गा नर्सरी एण्ड कृषि फर्म सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः २१ हजार १, १५ हजार १, १० हजार १ र ५ हजार १ रुपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्रविधितर्फ सुर्यछाप ढाका कपडा उद्योग, कृषितर्फ जैविक कफि तथा मसला प्रशोधन उद्योग अर्घाखाँची र हस्तकलातर्फ नेपाल क्राफ्ट उद्योग प्रथम भएका छन् । उनीहरुलाई संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतले सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो । उनीहरुलाई जनही २१ हजार १ रुपैयाँ नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको सदस्य सचिव मुक्तप्रसाद अधिकारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्