स्थानीयद्वारा १० किलोमिटर बाटो सरसफाइ
गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा स्थानीयको पहलमा द्रव्यशाह राजमार्गको १० किलोमिटर बाटो सरसफाई भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर-३ को करेली थुम्का देखि छोप्राक-५ सम्म को कालोपत्रे सडकको दायाँ बायाँ सरसफाई सम्पन्न भएको हो । बाटोको दायाँबायाँ उम्रिएका झार र बुट्यानहरूले गर्दा बाटो हिँड्न असहज भएको बेला स्थानीयको पहलमा काम भएको हो । सडकको दायाँ बायाँ बुट्यानले रोड छेकेकोले पैदल यात्रीलाई समेत समस्या परेको थियो ।
सडक दुर्घटना हुने सम्भावना बढेको कारण वडा तथा पालिकामा पटक पटक भन्दा पनि नसुने पछि गाउँलेहरू मिलेर सरसफाइ गरेको ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।
दायाँ बायाँ रोड झाडीले ढाकेको थियो सडक दुर्घटनामा हुने सम्भावना बढ्दो थियो , कुनै अप्रिय घटना हाम्रो नजिक नघटोस् भन्ने लागेर हामीले यस्तो कार्यको अगुवाइ गरेको ढकालले बताउनुभयो ।
बाटोमा सवारी यातायात गर्दै गर्दा वन्यजन्तुले पनि नजिकबाट आक्रमण गर्न सक्ने भएको हुँदा हामीले पहल गर्यौँ अनि सरसफाई पनि भयो अर्का स्थानीय धन बहादुर तामाङले बताउनुभयो । बाटोमा एउटा सवारी आएपछि पैदल यात्री कहाँ जाने भन्ने समस्या थियो, सरसफाइ पछि भने सहज भएको छ
२०७२ सालको विनाशकारी भूकम्प आए पश्चात् आपतकालिन रुपमा निर्माण भएको द्रव्य शाह मार्ग अहिले मर्मत सम्भारमा कसैको पनि ध्यान जान सकेको छैन ।
सडक भत्किएर झाडी बढेको कारण यस सडक खण्डमा सडक दुर्घटनामा बढेको थियो । स्थानीयले खाल्डाखुल्डी पुर्नुका साथै झाडी फाँडेपछि यात्रामा सहज भएको सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो । सडक बोर्डले जिम्मा लिएको बाटो भएकाले पालिकाबाट उक्त बाटोलाई नीतिगत रुपमा बजेट व्यवस्थापन गर्न नमिल्ने गुरुङको भनाइ छ । स्थानीय नागरिकहरू पनि सामाजिक उत्तरदायित्वमा रहेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्