तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्छ’

काठमाडौँ । स्वामी आनन्द अरुणले नेपाली भूमिलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा ओशो तपोवनका संस्थापक अरुणले ध्यान, योग, आयुर्वेद र नेचुरोप्याथी अध्यापनका लागि नेपालमा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । यी चार सङ्कायमा ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीलाई आर्कषण गर्न सकिने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विश्वविद्यालयको स्थापनाका लागि आग्रह गर्नुभयो । 

स्वामी आनन्दले विश्वमा ध्यानको महत्व र आवश्यकता बोध भएसँगै ध्यान प्रशिक्षणको सम्भावना बढेको बताउनुभयो । “विश्वमा ध्यानको बजार सात अर्ब अमेरिकी डलरको छ र छिट्टै यो नौ अर्ब डलरको बन्दैछ”, उहाँले भन्नुभयो, “यो सम्भावनालाई नेपालले उपयोग गर्नुपर्छ, नेपालमा पनि एक अर्ब डलरको बजार बन्नसक्छ ।” उहाँले अहिले पनि ओशो तपोवनमा ध्यानका लागि मात्रै विभिन्न ६० देशबाट मानिसहरू आइरहेको बताउनुभयो । 

टुँडिखेलमा ध्यान अभ्यास गराउने क्रममा उहाँले यो दिवस ध्यान गर्ने व्यक्तिको लागि पर्व र सम्पूर्ण नेपालीका लागि गौरवको दिन भएको उल्लेख गर्नुभयो । “यही भूमिमा भगवान् शिवले ध्यान विज्ञान विकास गर्नुभयो, यो भगवान् गौतम बुद्धको जन्मस्थल पनि हो । स्वामी पदम सम्भव, गुरु नानक, शिवपुरी बाबा, गोकुले बाबा, खप्तड बाबा, पाइल बाबालगायत धेरै गुरुहरूले नेपाली भूमिमा ध्यान गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।  

गत डिसेम्बर ७ तारिखका दिन संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोहीअनुसार आज नेपालमा पनि देशभर ध्यानको अभ्याससहित यो दिवस मनाइदैछ ।

नेपालले विगत १० वर्षदेखि यो प्रस्ताव उठाइरहेको स्वामी अरुणले बताउनुभयो । नेपालले राखेको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको सर्वसम्मतिले अनुमोदन भएपछि ध्यानको विकासमा थप हौसला मिलेको उहाँको भनाइ थियो । स्वामी आनन्दले ध्यानको महत्वको चर्चा गर्दै हरेक व्यक्तिलाई ध्यान अनिवार्य गर्न सुझाव समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button