कालिका नगर अस्पतालमा अत्याधुनिक ल्याब र टोकन प्रणाली शुरु
चितवन। चितवनको कालिका नगरपालिकामा अत्याधुनिक ल्याब प्रविधि र टोकन प्रणाली वितरणको शुरुवात गरिएको छ ।
पालिकाले सञ्चालन गरेको नगर अस्पतालमा बिरामीको उपचारको प्रभावकारिताका लागि प्रविधिको प्रयोग गरिएको हो । ग्रामीण क्षेत्रका बासिन्दालाई भरपर्दो स्वास्थ्यसेवा प्रदान गरी उपचारका लागि जिल्लाका अन्य अस्पताल जान नपर्ने गरी उपचारमा प्रविधिको प्रयोग गरिएको पालिकाले जनाएको छ ।

दैनिक २५० जना बिरामीको उपचार गर्दै आएको सो अस्पतालमा बुधबारदेखि प्रयोगशाला विस्तार र टोकन प्रणालीको समेत सुरुवात गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो ।
सो अस्पतालमा बुधबारदेखि थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण गर्ने मेसिन प्रयोगमा ल्याइएको छ । टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्न टोकन सिस्टमको सुरुवात गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले प्रदान गरेको २२ लाख मूल्य पर्ने अत्याधुनिक मेसिन प्रयोगमा ल्याइएको हो ।
मेयर रेग्मीले उपचारमा आएका ज्येष्ठ नागरिकलाई टोकन प्रणालीबाट टिकट काटेर सो प्रणालीको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले कालिका नगर अस्पतालको सेवालाई विस्तार र समयानुकूल बनाउँदै लैजाने बताउनु भयो ।
मेयर रेग्मीले नगरभित्रका विपन्न समुदायको उपचारमा पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । यो वर्ष करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिएको भन्दै उहाँले आगामी वर्ष थप गर्दै लैजाने बताउनु भयो । २०७४ सालबाट स्वास्थ्य बिमा सुरु गरेको सो अस्पतालले नगर अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ ।
अस्पताल घोषणा भएपछि डाक्टरहरूको दरबन्दी थप गरी स्वास्थ्यसेवालाई प्रभावकारी बनाइएको हो । हाल सो अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर सहित ६ जना मेडिकल अधिकृत तहका डाक्टर कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरहरूले समेत सेवा दिँदै आएका छन् ।
डाक्टर र स्वास्थ्यकर्मी गरी ४० जना कर्मचारी कार्यरत सो अस्पतालले ओपिडी, आकस्मिक, प्रसूति, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, रेबिज रोगविरुद्धको भ्याक्सिन दिँदै आएको मेसु जीवन खरेलले जानकारी दिनुभयो । ‘उपचारमा आएका बिरामीलाई सकभर रिफर गर्न नपर्ने गरी स्वास्थ्यसेवा प्रदान गरेका छौँ’, मेसु खरेलले भन्नुभयो, ‘उपचारमा आएका १० प्रतिशत मात्र बिरामी रिफर भएर अन्य अस्पतालमा जाने गरेका छन् ।’ उहाँले स्थानीय सरकारको सहयोगका कारण एकपछिअर्को गरी स्वास्थ्यसेवालाई परिष्कृत गर्दै आएको बताउनु भयो ।
१५ शैयाको सो अस्पतालमा पाँचवटा बेड आकस्मिक कक्षामा रहेका छन् । चौबिसै घन्टा सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कालिका नगरपालिकाले नगरभित्रका करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्