तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा साढे ३५ हजार सवारी साधन कारबाहीमा, ४ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज । लुम्बिनी प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोज १ गतेदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभरका १२ वटै जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३५ हजार ५०५  सवारीसाधन कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गरेर चलाएका सवारीसाधनबाट ४ करोड ३९ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी १० हजार ५३० सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४७ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको हो भने अर्घाखाँचीमा सबैभन्दा कम सवारीसाधन कारबाहीमा परेका छन् । अर्घाखाँचीमा ५९६ कारबाहीमा पर्दा ७ लाख २४ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसाधन कारबाही अन्तर्गत पश्चिम नवलपरासीमा २१ सय ४५ सवारीसाधन कारबाहीमा परेका छन् भने त्यहाँबाट २६ लाख १ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी कपिलवस्तुमा १८ सय ८९ सवारीसाधन कारबाहीमा पर्दा २४ लाख ४१ हजार जरिवाना वापतको राजस्व सङ्कलन गरिएको छ । पाल्पामा ११ सय ७७ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १४ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी, गुल्मीमा १२ सय ९४ सवारीसाधनलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले १० लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरीले दाङमा ४९ सय २१ सवारीसाधनलाई  कारबाही गर्दा ५५ लाख ६ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई गरिएको कारबाहीमा लुम्बिनी प्रदेशमा बाँके दोस्रोमा रहेको छ । बाँकेमा ८३ सय ९५ सवारीसाधनलाई कारबाही गरिएको छ । जसमा ट्राफिक प्रहरीले ७३ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । बर्दियामा पनि ट्राफिक प्रहरीले १७ सय १० वटा सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यस्तै प्युठानमा ९ सय ९० सवारीसाधनलाई गरिएको कारबाहीमा १० लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ भने क्रमशः रोल्पा र पूर्वी रुकुममा ११ सय ५२ र ६२५ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १३ लाख ४१ हजार ५ सय र ७ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

त्यस्तै, गत असोज १ देखि मङ्सिर मसान्तसम्ममा भएका ३७८ सवारी दुर्घटनामा परी १४४ जनाको मृत्यु भएको छ । जस अन्तर्गत रुपन्देहीमा भएको ७३ दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने पश्चिम नवलपरासीमा ४३ दुर्घटनामा १४, कपिलवस्तुमा ५७ वटा दुर्घटनामा २१, पाल्पामा भएको १२ दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । गुल्मीमा ८ दुर्घटनामा २ र अर्घाखाँचीमा ५ दुर्घटनामा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी, ६६ सवारी दुर्घटनाबाट दाङमा २५ जनाको मृत्यु हुँदा बाँकेमा ५३ सवारी दुर्घटनामा १९, बर्दियामा ४४ दुर्घटनाबाट १५, प्युठानमा ७ दुर्घटना हुँदा २, रोल्पामा भएको ९ दुर्घटनामा ५ जनाको मृत्यु हुँदा पूर्वी रुकुममा भएको एउटा दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने प्रदेशभर सवारी दुर्घटनाबाट उक्त अवधिमा २७८ जना गम्भीर घाइते हुँदा ३०८ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले प्रदेशभरमा २७ सय ६ पटक सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमतर्फ १ लाख १९ हजार १४८ जना सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button