आजदेखि झापा कप शुरु

झापा । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि झापा कप शुरु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले झापा कप प्रतियोगिता आज उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।
त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको प्यारापिट निर्माण, खेल मैदान स्तरोन्नति गरिएको आयोजक झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिपर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्