तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग चीनको ‘सीपीपीसीसी’ सदस्य शुनको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी) को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

उक्त अवसरमा शुभकामना आदानप्रदान पश्चात् नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोग लगायतका विषयमा महत्वपूर्ण छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताउनु भयो । 

‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७० औँ वर्ष पुरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’ उहाँले भन्नुभयो, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।’ उपराष्ट्रपति यादवले नेपाल र चीनबीच जनस्तरमा समेत अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताउनु भयो । 

‘चौथो शताब्दीदेखि नै हाम्रा दुई देशबीच सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षुफा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले हाम्रो जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन पुर्याएको योगदानलाई म स्मरण गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको छ । ’  

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । ‘पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’, सूचना प्रविधिको विकास लगायत विकासका बहुआयामिक क्षेत्रहरूमा गहन रूपमा आपसी सहयोग एवं सहकार्य भइरहेकोमा म खुशी व्यक्त गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘ नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु ।’ 

उपराष्ट्रपति यादवले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि निरन्तर सहकार्य हुँदै जानेमा विश्वास व्यक्त गर्दै महामहिम शुनको नेपाल भ्रमण सफल र बसाई सुखद रहोस् भन्ने कामना समेत गर्नुभयो । 

‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी) को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरू लुम्बिनीलाई आफ्नो हृदयमा राखेको उल्लेख गदैै यो पवित्र भूमिप्रति मसहित सम्पूर्ण चिनियाँ नागरिकको ठूलो आस्था रहेको बताउनु भयो । 

‘प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्दछन् । लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेबसाइटमा समेत सूचिकृत गरिएको छ’ उहाँले भन्नुभयो, ‘चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीहरूलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ ।’ उहाँले नेपाल पवित्र भूमि विश्वका सम्पूर्ण बुद्धमार्गीहरुको मन र हृदयमा रहेको समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button