तपाईँ सुन्दै हुनुहुन्छः

दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा मेलाको रौनक सुरु

नुवाकोट। धान्य पूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेला सुरु भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म चल्ने मेला यो वर्ष शनिबारदेखि भक्तजनको बाक्लो आवागमन सुरु भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो ।

उहाँको अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ । ‘दुप्चेश्वर क्षेत्र विकास कोष’ मार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्य पूर्णिमा मेला सञ्चालनमा ल्याइएको छ ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवम् पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, बन्दोबस्ती, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङ लगायतको व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षक तथा दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । उहाँको अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ ।

दुप्चेश्वर महादेवको महिमा :

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीय बासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव रहेको विश्वासमा पूजा आराधाना एवम् आस्था प्रकट गरिन्छ । गाईले दूध चढाएको हुदाँ दुग्धेश्वर हुदैँ अहिले यस ऐतिहासिक तथा प्रसिद्ध मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।

यस पवित्रस्थललाई समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको किम्बदन्तीसंग पनि जोडिन्छ ।

मन्दिरका पुजारी भगवानहरि धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेका छन् ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिकाको बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पत्ती प्राप्ती लगायतका आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङख्यामा भक्तजनहरु पुग्ने गरेका छन् । धान्य पूर्णिमा मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा जाने गर्दछन् ।

दुप्चेश्वर मन्दिर कसरी पुगिन्छ ?

दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँदेखि करिब ६२ किलोमिटर दुरीको यात्रामा मन्दिर पुग्न सकिन्छ ।

काठमाडौंको टोखा–छहरे सडकखण्ड अन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटारहुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किलोमिटरको यात्रामा पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गंगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करीब ९८ किमि दुरीको यात्रा तय गर्नुपर्दछ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमि उत्तर–पूर्वमा रहेको छ ।

मन्दिर नजिकै पर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रुपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदलयात्रामा मन्दिरसम्म सजिलै पुग्न सकिन्छ ।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामा, ठ्याङ्ग्रेहरुका लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको छ ।

मेलामा धुपी सहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारको लागी परिचित मान्छि । तर, लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोगमा गरेको कडाइले हस्तकलाबाट उत्पादित सामग्री उत्पादनमा भने गिरावट हुदैँ गएकाले यसको पहिचान हराउदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button