बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना
नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको र त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानवअधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरूको न्यायका लागि प्रदेश सरकारले भूमिका बढाउने बताउनुभयो ।
मानवअधिकार रक्षाका निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझै मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताउनुभयो । “
इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका पूर्व अध्यक्ष सुबोध प्याकुरेल, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी लगायतले द्वन्द्व व्यवस्थापनका विषयमा बोल्नुभएको थियो ।
इन्सेकको आफ्नो स्वामित्वमा रहेको २७ धुर जग्गामा रु ४७ लाख २९ हजारको लागतमा सो स्रोत केन्द्र स्थापन भएको हो । स्रोत केन्द्रलाई द्वन्द्वपीडितलाई कानुनी तथा मनोपरामर्शका साथै सूचना आदानप्रदान गर्ने थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्