प्रदेश संरचनालाई सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न दातृसंस्थाहरूलाई मुख्यमन्त्री कडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरू सञ्चालन गर्न दातृसंस्थाहरूलाई आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेशको भ्रमणमा रहेकी यूरोपेली युनियनको नेपालस्थित राजदूत भेरोनिक लोरेन्जासँग आज आफ्नै कार्यकक्षमा भेटघाट गर्नुहुँदै मुख्यमन्त्री कडेलले सङ्घीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशिल बनाउने गरि आफ्ना कार्यक्रमहरू सञ्चालन गर्न राजदूत लोरेन्जालाई आग्रह गर्नुभयो ।
तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरूले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कडेलले राजदूत लोरेन्जासँग भन्नुभयो, “तपाईँहरू जस्तो सङ्घीयताको पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहकार्य बढाउने नीति बनाउनुहोस्, हाम्रो पूर्ण सहयोग रहन्छ ।”

युरोपियन युनियनको कर्णालीका विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिँदै मुख्यमन्त्री कडेलले सहयोगलाई नागरिकले बढीभन्दा बढी लाभ लिन सक्ने गरि परिणाममुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गर्नुभयो ।
“कर्णालीमा तपाईँहरूले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ”, मुख्यमन्त्री कडेलले भन्नुभयो “हाम्रो चासो तपाईँहरूले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्ने होस हो ।”
युरोपियन युनियन अन्तर्गतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरूको बनाउने गरेको तर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री कडेलले नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझाव समेत दिनुभयो ।

मुख्यमन्त्री कडेलले विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको जोड प्राथमिकता भएपनि अव पूर्वाधार विकासमा लगानी बढाउन राजदूत लोरेन्जालाई सुझाव दिनुभयो ।
भेटघाट कार्यक्रममा राजदूत लोरेन्जाले यूरोपेली युनियनले मुख्यमन्त्री कडेलले राख्नुभएका सुझावलाई यूरोपेली युनियनले सकारात्मक लिँदै आफ्ना कार्यक्रमहरूलाई प्रदेश सरकारमार्फत अघि बढाउन जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्