तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जको ऊर्जा संकट समाधान गर्न २२० केभी लाइन ल्याइने : निर्देशक घिसिङ

बाँके । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याई यहाँको ऊर्जा समस्याको दीर्घकालीन समाधान गर्न पहल भइरहेको जानकारी दिनुभएको छ।

क्रियटिभ ह्यान्ड्स र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरको सहकार्यमा बिहीबार आयोजित ‘नेपालगन्ज कन्क्लेभ’को देशले गर्छ विद्युत् निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट सत्रमा बोल्दै घिसिङले प्राधिकरणले नेपालगन्जको ऊर्जा समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

‘हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी ट्रान्समिसन लाइन नेपालगन्ज ल्याउने डिटेल डिजाइन पूरा भइसकेको छ। यो लाइन बनेपछि यहाँको धेरै समस्या समाधान हुनेछ,’ घिसिङले भन्नुभयो। साथै, नेपालगन्ज नजिक विद्युत् उत्पादन केन्द्र नभएका कारण समस्या थपिएको पनि उहाँले बताउनुभयो। ‘पश्चिम अत्तरियाबाट वा पूर्व बुटवलबाट लाइन ल्याउँदा टाढा पर्छ। यो कारणले भोल्टेज ड्रप हुने समस्या छ,’ उहाँले थप्नुभयो।

अम्बे सिमेन्टको नजिक बनिरहेको सबस्टेशन र भारतको नानपारासम्मको ट्रान्समिसन लाइनले यहाँको भोल्टेज समस्या हल गर्ने विश्वास प्रकट गर्दै घिसिङले भन्नुभयो, ‘भारततर्फको काम सकिएको छ, नेपालतर्फको काम एक वर्षभित्र पूरा गर्ने योजना छ ।’

नेपालगन्जका लागि मात्र ३० देखि ४० अर्बको ऊर्जा योजनाहरू रहेको र तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका लागि विभिन्न सबस्टेशन र १३२ केभी लाइन बनाउने काम अघि बढाइएको घिसिङले बताउनुभयो। तर, जग्गा विवाद, कानुनी प्रक्रिया, र जनताको असहयोगका कारण काम ढिलाइ हुने गरेको उहाँले स्वीकार्नुभयो।

नेपालगन्ज कन्क्लेभ दुई दिनसम्म सञ्चालन हुनेछ। आठ विषयमा प्यानल छलफल गर्दै यो कार्यक्रमले नेपालगन्जलाई राष्ट्रिय विमर्शको थलोका रूपमा विकास गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button