बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम
बलेवा-बरेङ गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन वृद्धि र आत्मनिर्भर बनाउन सो कार्यक्रम लागू गरेको सो पालिकाअध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
उद्यम गरेर रोजगारीसँग जोडिन चाहने महिलाका लागि गाउँपालिकाले ऋणमा ब्याज अनुदान दिने घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउनेगरी कार्ययोजना महिला आफैँले बनाउनुपर्नेछ ।
गाउँपालिकाले कृषि, काष्ट, सिलाइकटाइ वा अन्य जुनसुकै उत्पादनका लागि महिलाले ऋण लिन सक्नेछन् । महिलाले उत्पादन गर्ने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत गाउँपालिकाले पहल गर्ने जनाएको छ । धेरै उत्पादन र भण्डारण गरेर बिक्री गर्न सकिने खालका कृषिउपज सङ्कलनका लागि सङ्कलन केन्द्र बनाउन बजेटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्