निःशुल्क सेनिटरी प्याड उपलब्ध भएसँगै छात्राहरू नियमित विद्यालय आउन थाले
वीरगंज । पर्साका सामुदायिक विद्यालयमा निम्न माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराएपछि महिनावारीको समयमा पनि छात्राहरू नियमित विद्यालय आउने गरेका छन् ।
पर्साको पोखरिया नगरपालिका शिक्षा शाखा प्रमुख विजय झाले विगत चार वर्षदेखि नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा सेनिटरी प्याड उपलब्ध गराइरहेको बताउनुभयो ।
उहाँले गत वर्ष पोखरिया नगरपालिका अन्तर्गतका विद्यालयहरूमा १९ हजार ४ सय प्याकेट सेनिटरी प्याड वितरण भएको जानकारी दिनुभयो ।
पोखरिया नगरपालिकामा रहेका चार वटा निमावि र चार वटा माविमा सेनिटरी प्याड बैङ्क सञ्चालन गरेको र बालिकाहरूले महिनावारीको समयमा सहजरूपमा प्याड पाइरहेको शिक्षा शाखा प्रमुख झाले बताउनुभयो ।
उहाँले विद्यालयका साथै पोखरिया नगरपालिका कार्यालयमा पनि सेनिटरी प्याडको बैङ्क राखिएको र महिला कर्मचारी, सेवाग्राहीहरूलाई यो कार्यले सुविधा भएको बताउनुभयो ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार माविकी शिक्षिका बबिता रौनियारले महिनावारीको समयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध हुँदा बालिकाहरू विद्यालयमा टिकाउ भइरहेको जानकारी दिनुभयो ।
सेनिटरी प्याड निःशुल्क उपलब्ध नहुँदा महिनावारी भएका बालिकाहरू विद्यालयमा चार÷पाँच दिन नआउने गरेकामा पछिल्लो समयमा प्याड निःशुल्क उपलब्ध हुन थालेपछि यो समस्या नदेखिएको बताउनुभयो ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार माविमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ । शिक्षिका रौनियारले विद्यालयमा छ जना शिक्षिका रहेका र छात्राहरूलाई महिनावारी भएको बेला प्याड प्रयोगमा समस्या हुँदा उनीहरूले सघाउने गरेको बताउनुभयो । यस विद्यालयमा सफाइलाई ध्यान दिँदै सेनिटरी प्याड नष्ट गर्ने मेसिन पनि जडान भएको छ ।
पोखरियासहित पर्सा जिल्लाका प्रायः सबै पालिकाका विद्यालयहरूमा अहिले सेनिटरी प्याड निःशुल्क गरिएको छ । तर शौचालय सफा नभएको र प्याड प्रयोग गर्न छुट्टै कोठा नहुँदा छात्राहरूले समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्