कृषकका समस्यालाई सम्बोधन गर्ने गरी गृहकार्य भइरहेको छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि ऐन निर्माण तथा ऐन संशोधन गरी कृषकका समस्यालाई सम्बोधन गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मन्त्रालयको गतिविधिहरूबारे आज भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री अधिकारीले कानुनी कठिनाइ रहेकाले सार्वजनिक खरिद ऐनको संशोधन गरिने र कृषि ऐन निर्माणको काम मन्त्रालयले गरिरहेको बताउनुभयो ।
मन्त्री अधिकारीले रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै प्राङगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्न पशुपालन, कृषि उत्पादनमा कृषकहरूलाई अनुदानका कार्यक्रमहरू ल्याइएको बताउनुभयो ।
कृषि मन्त्री अधिकारीले कृषिमा लगानी दर्शक कार्यक्रम घोषणा गरिएकाले यसको अवधारणा पत्र तयारीका लागि प्रदेश र स्थानीय तहसँगको समन्वयमा लक्ष्यहरूको खाका तयारीको क्रममा रहेको पनि बताउनुभयो ।
मन्त्री अधिकारीले कृषिमा लगानी वृद्धि आम अभियानको रुपमा ल्याइने यस कार्यक्रमको उद्देश्य रहेकाले प्रमुख खाद्यान्न बालीमा आत्मनिर्भर, चैते धान उत्पादन अभियान, प्रविधि तथा कृषि बजार निर्माण तथा स्थानीय तह र महानगर साझेदारी कार्यक्रमहरू समावेश गरिएको जानकारी दिनुभयो ।
छलफलमा सांसदहरुले वास्तविक गरिब किसानहरूलाई कृषि अनुदान उपलब्ध गराउन, कृषिमा प्रविधि र युवालाई जोड्न तथा बजारीकरणको व्यवस्थापन, दुग्ध किसान, मल बिउ वितरणमा देखिएका समस्याहरूको समाधानमा कार्य गर्न मन्त्रालयलाई सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्